किपालय प्रडक्सनले प्लान इन्टरनेसनलसँग महिला लक्षित डकुमेन्ट्री कार्यशाला गर्ने भएको छ । प्लानको विश्वव्यापी अभियान ‘गल्स गेट इक्वेल रिप्रजेन्टेसन’ अन्तर्गत कार्यशाला हुन लागेको हो । कार्यशालामा १० जना महिलालाई डकुमेन्ट्री फिल्म मेकिङको ज्ञान दिइने बताइएको छ । महिला सम्बन्धि थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र चलचित्र निर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गर्न लागेको आयोजकले जनाएको छ ।
किपालयकी प्रोजेक्ट हेड आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट आवेदन मागिने र यसरी आएका आवेदनबाट १० जनालाई छनोट गरिने जानकारी गराएकी छिन् । ‘महिला फिल्ममेकरलाई चलचित्र निर्माणमा आधारभूत ज्ञान दिने उद्देश्यले यो कार्यशाला गर्न लागेका हौं । यसमा चलचित्र निर्माणमा रुचि हुने देशभरका महिला चलचित्रकर्मीले सहभागिताका लागि आवेदन दिन सक्नुहुनेछ,’ आश्माले भनिन् ।

आश्माका अनुसार कार्यशालाको समयावधि १ महिनाको रहनेछ भने कार्यशाला काठमाडौ र चित्लाङ गरी दुई ठाउँमा सम्पन्न हुनेछ । उनले कार्यशालामा चलचित्र निर्माणको अनुभव भएका महिलालाई प्राथमिकता दिने जानकारी गराइन् । किपालयका प्रबन्ध निर्देशक नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी कार्यशाला सञ्चालन गर्ने जनाए ।
कार्यशालामा १८ देखि २४ वर्ष भित्रका महिलाले आवेदन दिन सक्नेछन् भने इच्छुक फिल्मकर्मीले यही अप्रिल २३ अर्थात् आउँदो शुक्रबारसम्ममा निवेदन सक्नेछन् । कार्यक्रममा आवेदनका लागि कुनै शुल्क नतोकिएको किपालय प्रडक्सनले जनाएको छ । योसँगै कार्यक्रममा छनोट हुने १० जनाले पनि कुनै पनि चरणमा पैसा तिर्नु पर्नेछैन । कार्यशालासँगै खाने, बस्ने र सुटिङसम्मको सुविधा पनि आयोजक स्वंयले बेहोर्ने जनाएको छ ।




