सरकारले कोरोनाको संक्रमण फैलिन नदिन २०७६ चैत पहिलो साता लकडाउन घोषणा गरेपछि देशका सबै क्षेत्र बन्द भए । सिनेमा हल सञ्चालनमा भने लकडाउनभन्दा अगावै प्रतिबन्ध लगाइएको थियो । दोस्रो चरणको बन्दाबन्दीपछि प्रायः सबै क्षेत्र खुले । तर, सिनेमा हल खोल्न सरकारले चासो नदेखाएपछि गत पुष १० गते हल सञ्चालकहरुले एकतर्फी रुपमा हल खाोल्ने निर्णय गरेका थिए ।

सरकारले भने पुष २६ गते ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खोल्न अनुमति दिएको थियो । यसपछि केही नेपाली, हलिउड, बलिउड र साउथ (हिन्दी डब) चलचित्र प्रदर्शनमा आए । तर, कुनैले हलमा दर्शक तान्न सकेनन् । गत चैत २७ बाट प्रदर्शनमा आएका दुई चलचित्र ‘श्री’ र ‘गुड फ्रेन्ड’ ले पनि दर्शकको अभाव झेलिरहँँदा सरकारले फेरि सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले शहरी क्षेत्रमा कोरोनाको संक्रमण बढेको भन्दै बैशाख मसान्तसम्म हलहरु बन्द गर्ने निर्णय गरेको हो । भीडभाड हुने शिक्षण संस्थाहरु, पार्टी प्यालेस, जिमखाना, स्वीमिङ पुल, सभा समारोह पनि बन्द गर्ने सरकारले निर्णय गरेको छ । सरकारले पुनः सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेपछि देशका धेरै सिनेमा हल बन्द हुने अवस्थामा पुगेका छन् ।




