कोरोना पुष्टि भएको तीन दिनमा नै अभिनेत्री केकी अधिकारीको रिपोर्ट नेगेटिभ आएको छ । केही दिनअघिको हावाहुरीपछि उनलाई रुघाले समातेको थियो । दुई दिन ज्वरो पनि आएपछि उनले पिसिआर परीक्षण गराइन् । रिपोर्ट पोजेटिभ आएपछि चिकित्सकको सल्लाहअनुसार आफूलाई अलग्गै राखेकी उनले तीन दिनपछि पुनः परीक्षण गराउँदा कोरोनाको रिपोर्ट नेगेटिभ आएको हो ।

रिपोर्ट नेगेटिभ आए पनि उनले हाललाई आफूलाई आइसोलेट गरेकी छन् । बिहीवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले कोरोनालाई खेलाँचीको रुपमा नलिन र उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् । कोरोनाबाट आफूसँगै अरुलाई पनि जोगाउन उनको अनुरोध छ । उनलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उनले कोरोनाको खोप भने लगाएकी छैनन् ।
एक दशक लामो करिअरमा पहिलो पटक चलचित्र ‘छ माया छपक्कै’ बाट सफलताको सुख प्राप्त गरेकी उनी केही दिनमा चलचित्र ‘घिन्ताङ’ को छायांकनमा व्यस्त हुँदैछिन् । यही मंगलवारबाट चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्देशक दीपक श्रेष्ठ थिए । तर, केकीमा कोरोना देखिएपछि केही दिनलाई छायांकन पछाडि सारिएको छ । चलचित्रमा गौरव पहारीको पनि अभिनय रहनेछ ।


