कोरोना कहरका बीच मदन घिमिरेको निर्देशन रहने चलचित्र ‘आँधी तुफान २’ को सुटिङ सुरु भएको छ । बिहीबार चाबहिलस्थित एक पार्टी प्यालेसमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको यो चलचित्रको १६ वर्षपछि सिक्वेल निर्माण हुन लागेको हो । यसको पहिलो पार्ट सुपरहिट भएको थियो ।

लेखक मौनता श्रेष्ठको निर्माणमा बन्न लागेको चलचित्रमा कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजको अभिनय रहनेछ ।
थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको ‘आँधी तुफान २’ मा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ । चलचित्रको छायांकन काठमाडौं, काभ्रे र धुलिखेलमा हुनेछ । एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा चलचित्रले वाचन गर्ने बताइएको छ ।




