चलचित्र ‘कबड्डी ४’ को मुहूर्त गरिएको छ । शनिवार काठमाडौंको नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै चलचित्रको मुहूर्त गरिएको हो । मुहूर्त समारोहमा चलचित्रका कलाकारदेखि निर्देशक, निर्माता, छायाँकारसम्मको उपस्थिति रहेको थियो ।

निर्देशक रामबाबु गुरुङले लकडाउन नभएको खण्डमा बैशाख १५ गतेबाट छायांकन सुरु गर्ने बताए । ‘कबड्डी’ को अन्तिम सिरिज भनिएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको प्रमुख भूमिका रहनेछ ।
चलचित्रको कथा निर्देशक गरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर तयार पारेका हुन् । असोज १५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको निर्मातामा मणीराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार रहेका छन् । चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डि. कार्कीको छायांकन र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।