अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’ को सम्पूर्ण छायांकन सकिएको छ । छायांकन सुरु भएको ४२ दिनमा चलचित्र प्याकअप भएको निर्देशक दिनेश राउतले जानकारी दिए । चलचित्रको सम्पूर्ण छायांकन जुम्लामा गरिएको हो । चलचित्रमा प्रदीपको अपोजिटमा रेनु योगी छिन् । थिएटर आर्टिस्ट रहेकी रेनुले यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् ।

चलचित्रमा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको पनि अभिनय रहेको छ । निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा चलचित्रले वाचन गरेको छ । चलचित्रमा प्रदीपले पहिलो पटक गाउँले युवकको निर्वाह गरेका छन् ।
विनिश इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । राजेश श्रेष्ठले खिचेको चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । अनुप बराल कास्टिङ डाइरेक्टर रहेको चलचित्रका गीतमा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत छ । प्रदीपले ‘प्रकाश’ मा आफूले नयाँ चुनौतीहरु स्वीकार गर्दै आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किएको बताएका छन् ।