कलाकार बसुन्धरा भुषालले ३ लाख २० हजार रुपैयाँ ‘चलचित्रकर्मी कल्याणकारी कोष’ मा हस्तान्तरण गरेकी छन् । बुधवार उनले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र बोर्डका सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई रकम हस्तान्तरण गरेकी हुन् । ६ महिना अगाडि अमेरिका भ्रमणमा रहँदा भुषालले चलचित्रकर्मी र विभिन्न व्यक्तिबाट उक्त रकम संकलन गरेकी थिइन् ।

भुषालको परिवारसँगै लोक गायक प्रेमराजा महत, कलाकार पुजा लामा, अभिनेत्री साराङ्गा श्रेष्ठ, अभिनेता दीलिप रायमाझी दाम्पति, अभिनेत्री अरुणिमा लम्साल, अभिनेता मुकेश आचार्य, अभिनेत्री रञ्जना शर्मा, कलाकार राधा शर्मा लगायतले कोषमा आर्थिक सहयोग गरेका छन् । अभिनेता पल शाहले पनि कोषलाई एक लाख एक सय एक रुपैयाँ सहयोग गर्ने बताइएको छ ।
यो कोषले समस्यामा परेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गर्ने, वृद्ध तथा असक्त चलचित्रकर्मीलाई भत्ता वितरण गर्ने, मृत्युपरान्त काजकिरियामा सहयोग गर्ने लगायतको सेवा गर्दै आएको छ । अहिले ‘चलचित्रकर्मी कल्याणकारी कोष’ मा ४ करोडभन्दा बढी रकम छ । यो रकम संकलन गर्न सबैभन्दा बढी भुषालकै भूमिका रहेको छ । उनी यो कोषकी संयोजक समेत हुन् ।




