कोरोना महामारीपछि मानिसहरुको अनलाइन सपिङप्रति बढेको आकर्षणलाई मध्यनजर गर्दै अभिनेत्री साम्राज्ञी आरएल शाहले अनलाइन व्यवसाय सुरु गरेकी छन् । उनले अनलाइन क्लोथिङ स्टोर सञ्चालनमा ल्याएकी हुन् । ‘प्याप’ नाममा खोलिएको अनलाइन स्टोरमा नेपालमै तयार गरिएका महिलाले लगाउने पहिरन राखिएको छ ।

साम्राज्ञीले दिनहुँ जसो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् ‘प्याप’ स्टोरमा उपलब्ध पहिरनमा फोटोसुट गरेका तस्विरहरु सार्वजनिक गर्दै आएकी छन् । नेपालमा आफूले चाहेको जस्तो पहिरन घरमै बसेर अर्डर गर्ने अनलाइन प्लेटफर्मको खासै धेरै विकास नभएका कारण साम्राज्ञीले अनलाइन क्लोथिङ स्टोर सञ्चालनमा ल्याएकी हुन् ।
चलचित्र ‘रातो टिका निधारमा’ रिलिजपछि लामो समय चलचित्रमा काम नगरेकी साम्राज्ञीले लकडाउनपछि चलचित्र ‘तिम्रो मेरो साथ’ मा काम गरिन् । उनले लकडाउनको समयमा निर्देशक द्वय प्रवेश पौडेल र मिलन चाम्सको चलचित्र पनि साइन गरेकी थिइन् । तर, कोरोनाको दोस्रो लहर सुरु भएकाले यी चलचित्र छायांकनमा निस्कन सकेका छैनन् ।




