कर्मा र लक्ष्मीको ‘अनन्त’ सुटिङ सकियो



अभिनेता कर्मा र अभिनेत्री लक्ष्मी बर्देवाले पहलो पटक एकसाथ अभिनय गरेको चलचित्र ‘अनन्त’ को सुटिङ सकिएको छ । २० दिनमा चलचित्रको सुटिङ प्याकअप भएको निर्माता नवविजय श्रेष्ठले बताए । निषेधाज्ञा खुलेपछि चलचित्रको पोस्ट प्रोडक्सनको काम सुरु हुने उनको भनाई छ । चलचित्रलाई जेसन लोप्चनले निर्देशन गरेका हुन् । यसअघि उनले केही लघु चलचित्रको निर्देशन गरेका छन् ।

चलचित्रले आफ्नो प्रेमका लागि हदसम्म जाने चरित्रको कथा उठाएको छ । निर्देशक जेसनको पटकथा लेखन रहेको चलचित्रको सह-निर्मातामा रन्जन ढुंगाना र शीतल खड्का छन् । किपालय प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा जीवन अधिकारीको पनि मुख्य भूमिका छ । चलचित्रलाई बबिन दुलालले खिचेका हुन् । चलचित्रलाई यसै वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

निर्देशक जेसनले चलचित्रको बारेमा भनेका छन्, ‘आफूले प्रेम गर्ने मानिसको रक्षाका लागि हामी कुन हदसम्म जान सक्छौं, फिल्मको कथा यही हो । तर, यसलाई हामीले साइफाइ फ्लेबर दिएका छौं ।’ आफू क्रिस्टोफर नोलनको प्रशंसक रहेको र उनका ‘इन्सेप्सन’, ‘टेनेट’ जस्ता चलचित्रको शैलीबाट प्रेरित भएर ‘अनन्त’ लेखेको उनको भनाई छ । चलचित्रलाई काठमाडौंमा जीजीए ग्रुपले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu