डिस्जार्च भए मदनकृष्ण, भन्छन्, ‘शरीर फलाम जस्तो लाग्थ्यो, हावा रहेछ सबै’



कोरोना संक्रमणका कारण कमजोर महशुस भएपछि अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठ डिस्जार्च भएका छन् । ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका उनले शुक्रवार साँझ डिस्चार्ज भएपछि भिडियो सन्देशमार्फत् सबैमा सतर्क रहन अनुरोध गरेका छन् । संसारलाई महासंकट परेको यो दुःखको घडीमा सबैले सबैलाई माया गर्न र राम्रो सोच्न उनले सुझाएका छन् ।

उनले भिडियोमा भनेका छन्, ‘जिन्दगी केही रहेनछ । आफ्नो शरीर फलाम जस्तो लाग्थ्यो । पहाड फोड्दिऊँजस्तो लाग्थ्यो । हावा रहेछ सबै । त्यसैले यो समयमा कसैले कसैलाई पोटिकल इखविख बोकेर आफ्नो मनलाई फोहोर नबनाऔं । सबैले सबैको भलाई सोच्यौं भने राम्रो हुन्छ । एकले अर्काप्रति बैमनस्यताको भाव पालेर केही फाइदा छैन । राक्षसपन पलाउनु मात्र हुन्छ शरीरमा ।’

उनले आफ्नो अनुभव सुनाउँदै कोरोनाले शरीर एकदमै गल्ने बताए । उनले अगाडि भनेका छन्, ‘जिन्दगीमा कहिल्यै नभोगेको गलाइ महशुस गरेँ । पहिलाको कोरोनाले इम्यूनिटी पावर जिरो बनाउथ्यो । तर, इनर्जी पावर चाहिँ केही बाँकी रहन्थ्यो । तर, अहिलेको कोरोना ठिक उल्टो लाग्यो । इम्यूनिटी पावर केही बाँकी रहन्छ तर इनर्जी पावर शुन्य हुन्छ । शरीरमा इनर्जी नै छैन ।’

आफ्नो परिवारका सबै कोरोना संक्रमित भएका कारण छिमेकीले हेरचाह गरिरहेको उनले बताए । आफ्ना छिमेकी जस्तै सबैमा सहयोगी भावना हुनुपर्ने उनको भनाई छ । उनले भनेका छन्, ‘यो समयमा सबैले प्रेमको आँखाले हेर्नुपर्छ । अहिले संसारकै दुर्दशा भइरहेको छ । सबैले मिलेर कोरोनालाई जित्नुपर्छ ।’ उनले स्वास्थ्य सुरक्षा अपनाएर मात्र घर बाहिर निस्कन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu