यही बैशाख २३ गतेदेखि २७ गतेसम्म अनलाइन माध्यमबाट हुन लागेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा बलिउड निर्माता, निर्देशक तथा कलाकार अनुराग कश्यपले मास्टर क्लास दिने भएका छन् । उद्घाटनपछिको पहिलो सेसनमा उनले ३ः३० बाट ४ः३० सम्म चलचित्रकर्मी र दर्शकलाई चलचित्र सम्बन्धि आफ्नो अनुभव बाँड्ने निफद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

फरक धारका चलचित्र निर्माणमा आफ्नो बेग्लै पहिचान बनाएका अनुरागले लेखकको रुपमा करिअर सुरु गरेका थिए । चलचित्र ‘पाँच’ बाट निर्देशनमा होमिएका उनलाई चलचित्र ‘ग्याङ्स अफ वासेपुर’ ले चर्चामा ल्याएको थियो । यसपछि उनले ‘मनमर्जियाँ’, ‘चोक्ड’, ‘मुक्काबाज’ जस्ता चलचित्र निर्देशन गरे । उनले ‘एके भर्सेस एके, आइ एम, अकिरा’ लगायतमा चलचित्र अभिनय पनि गरेका छन् ।
यसपटक महोत्सवमा सहभागी चलचित्रहरु नेट टेलिभिजन र फेस्टिभलको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिने निफ अध्यक्ष केपी पाठकले बताए । ‘विश्वका कथाहरुको उत्सव’ नाराका साथ चलचित्र संस्कृतिको विकास गर्ने उद्देश्य राखिएको महोत्सवमा यो वर्ष कोरोना महामारीको विषयमा बनेका चलचित्रलाई अलग्गै विधामा प्रतिस्पर्धा गराइने र अवार्ड पनि वितरण गरिने उनको भनाई छ ।