देशमा बसे पनि फिल्म निर्माण र निर्देशन गर्ने नेपाली थुप्रै छन् । तीमध्येका एक हुन् डा. कपिल रिजाल । रिजाल पेशाले दन्त चिकित्सक हुन् । तर चलचित्र निर्देशनमा पनि उनी सक्रिय छन् । त्यो पनि अंग्रेजी चलचित्र । दुइ दशकदेखि लण्डनमा बस्दै आएका उनले चिकित्सा क्षेत्रबाट बचेको समयमा छोटा चलचित्र तयार पार्ने गरेका छन् ।
ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ तथा चलचित्र निर्माता, गायक एवं गीतकार डा. भोला रिजालका छोरा रहेका रिजालले निर्देशन गरेको छोटो फिल्म ‘कर्मा : लाईफ इज ए बुमर्याङ, यु गेट ह्वाट यु गिभ’ यूट्युबमा सार्वजनिक भएको छ । अंग्रेजी भाषामा तयार पारिएको चलचित्र जस्तो कर्म गर्यो, त्यस्तै फल पाइन्छ भन्ने विषयमा केन्द्रित छ । रिजालको निर्देशनमा बनेको यो तेस्रो छोटो चलचित्र हो ।

केआर प्रडक्सन, लण्डनको व्यानरमा निर्मित चलचित्रमा उनले लण्डनवासी नेपालीका साथमा लण्डनका कलाकारहरुलाई अभिनय गराएका छन् । चलचित्रमा लण्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला (लियो टयांक) मूख्य भूमिकामा छन् भने लण्डनकी डेली एलन नायिका रहेकी छिन् । उनीहरुका साथमा सपनकुमार राई, जेना मासे, ज्याक मासे, कारलाई बिक, र निशान पुनले पनि अभिनय गरेका छन् ।
सस्पेन्स थ्रिलर चलचित्रमा कथा डा. कपिल रिजालकै छ भने पटकथा उनका साथमा लुक हन्टरले तयार पारेका छन् । स्टोरी बोर्डिङ ग्रेम जोन्स, संगीत भासोन ब्लु, स्टन्ट संयोजन इअन भ्यान टिम्परली, छायांकन फास्टस टक्ला, सम्पादन दिपेश केपी र एलेक्स टोम्ली, भिजुअल इफेक्ट प्लुटस स्टुडियोको रहेको चलचित्रमा सपनकुमार राई, मिनो ओज, डेली एलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । चलचित्र ११ मिनेट २२ सेकेन्डको छ ।
भिडियो :-




