नेपालमा कोरोना संक्रमण भयावह रुपमा फैलिएका कारण बुधबार मध्यरातदेखि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपछि अभिनेत्री तथा निर्देशक झरना थापा, अभिनेत्री सुहाना थापा र निर्माता सुनिल कुमार थापा अमेरिका प्रस्थान गरेका छन् । उनीहरु मंगलवारको फ्लाइटमा अमेरिका उडेका हुन् । दुबई विमानस्थल ट्रान्जिट भएर उनीहरु अमेरिकातर्फ लागेका हुन् ।

गत वर्षको फागुन पहिलो साता २ महिना लामो अमेरिका बसाईपछि चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकनका लागि थापा परिवार स्वदेश फर्किएको थियो । अब चलचित्रको सम्पूर्ण छायांकन सकिएका कारण उनीहरु अन्तर्राष्ट्रिय उडान खुल्ला नभएसम्म अमेरिकामै बस्ने तयारीमा रहेको जानकारी प्राप्त छ । सुहानाको अध्ययनका लागि उनीहरु अमेरिका गएको बुझिएको छ ।
सुहानाले अमेरिकाको कलेजबाट मनोविज्ञानमा स्नातक गरिरहेकी छन् । चलचित्रमा काम गर्नुभन्दा अगाडि उनी अमेरिकामै बसेर अध्ययन गरिरहेकी थिइन् । ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले अहिले अभिनयसँगै अध्ययनलाई पनि एकसाथ अगाडि बढाइरहेकी छिन् । ‘ए मेरो हजुर ४’ रिलिजपछि उनले होम प्रोडक्सनको अर्को चलचित्र ‘भागवत गीता’ मा काम गर्नेछिन् ।




