अभिनेता पल शाहले अस्पतालमा उपचारार्थ कोरोना संक्रमित बिरामीका लागि सहयोगी हात अगाडि बढाएका छन् । हाम्रो टिम नेपालसँग सहकार्य गरेर उनले कोरोनाका बिरामीका लागि अक्सिजनका सिलिन्डर संकलन अभियान सुरु गरेका छन् । बुधवार (हिजो) उनले केही थान अक्सिजनसहितका सिलिन्डर संकलन र खरिद गरेर अस्पताललाई निःशुल्क हस्तान्तरण गरे ।
बुधवार भक्तपुृर अस्पतालमा उपचारार्थ कोभिडका बिरामीका लागि अक्सिजन ग्यास सहयोग गरेका तस्विर आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै उनले अक्सिजन नपाएर कुनै पनि नेपालीहरुले ज्यान गुमाउन नपरोस् भनेर आफूहरु निरन्तर सेवामा खटिरहेको उल्लेख गरेका छन् । उनले अक्सिजन ग्यास खरिदका लागि हाम्रो टिम नेपाललाई आर्थिक सहयोग पनि गरेका छन् ।

अस्पताललाई अक्सिजन सहयोगपछि उनले भने- ‘अहिले कोरोनाका बिरामीलाई अक्सिजन पाउन गाह्रो रहेछ । यसैले अक्सिजन नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भनेर निःशुल्क अक्सिजन बाँड्न थालेका हौं । हामी अस्पतालसँगै संक्रमितको घरमा पनि पुर्याउँदैछौं । दर्शकका कारण म पल शाह भएको हुँ । आज उहाँहरुलाई गाह्रो हुँदा म सहयोग नगरी कसरी बस्न सक्छु र !’
नेपालमा कोरोनाका बिरामी बढेसँगै अस्पतालहरुमा अक्सिजनको खपत बढ्न थालेको छ । संक्रमण दिनानुदिन बढ्न थालेपछि सर्वसाधारणमा भारत जस्तै नेपालमा पनि अक्सिजन अभाव हुने हो कि ? भन्ने त्रास उत्पन्न भएको छ । तर, अहिले अक्सिजन उत्पादन गर्ने उद्योगमा अक्सिजनको अभाव नभए पनि सहज रूपमा सिलिन्डर पाउन कठिनाई रहेको गुनासो सुनिन थालेको छ ।