केदार श्रेष्ठ निर्देशित नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’ (द सुज अफ अ लिटल गर्ल) ले रुसको फेस्टप्रो फिल्म फेस्टिभलमा बेस्ट सर्ट फिल्मको अवार्ड जितेको छ । यसअघि मार्चमा अमेरिकाको वामकिड्स फिल्म फेस्टिभलमा पनि यो फिल्मले बेस्ट लाइभ एक्सन सर्ट फिल्मको अवार्ड जितेको थियो । त्यस्तै अप्रिलमा बुसान इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल अन्तर्गत कोरियाको सिनेमा घरमा प्रदर्शन भएको थियो।
‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय यात्राका क्रममा इटालीको फिल्म फेस्टिभल ‘कोर्टी अ पोन्टी’, सिंगारपुरको दशौं ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’मा छनौट भइ यसै मे महिनामा प्रतिस्पर्धात्मक प्रदर्शन हुँदैछ । लगत्तै आउँदो जुनको पहिलो साता जर्मनीको अर्को प्रतिष्ठित फिल्म फेस्टिभल ‘सर्ट फिल्म फेस्टिभल–हमबर्ग’ को मो एण्ड फ्रिस सेक्सन अन्तर्गत पनि प्रतिष्पर्धा गर्दैछ । यस फिल्मले गत वर्ष जर्मनीकै ६६ औं इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल–ओवरहोउसेनमा अवार्ड लिएको थियो ।

‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो, उनको वरिपरीका आमा, शिक्षक लगायतबाट चप्पल ‘सुल्टो’ नलगाउँदा गाली पाउँछिन् र चप्पल उल्टो नलगाउने उपायको खोजीमा लाग्छिन् । फिल्ममा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी लगायतको अभिनय छ ।
विभु पौडेल र सुशान्त श्रेष्ठ प्रोड्युसर रहेको फिल्मको सरुन मानन्धर सिनेमाटोग्राफर हुन् । विप्लपराज पोखरेलको सम्पादन, किशोर आचार्यको साउण्ड डिजाइन, रिकेन महर्जनको संगीत रहेको फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् । ‘जुनुको जुत्ता’ लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठले लेखेका हुन् ।