कोरोना महामारीबीच सडकमा कलाकार



जिवन पराजुली। सन् २०१९ को अन्त्यबाट शुरु भएको कोरोना महामारीले संसारलाई अझै छोडेको छैन । पहिलो लहरको महामारीबाट अब राहत मिल्ने भयो भन्ने आशामा रहेका मानिसहरुलाई पुनः यहि महामारीको दोश्रो लहरले च्यापेको छ । कोरोनाको दोश्रो लहरले पुरै संसारलाई नै पुनः चपेटामा पारेको छ । कोरोना विरुद्दको भ्याक्सिन लगाउने केहि देशहरुमा सामान्य असर परेता पनि नेपाल र भारतमा भने दोश्रो लहरले निकै कठिन बनाएको छ । मानिसहरु भेला हुन पाएका छैनन् । अस्पतालहरुमा विरामीको चापले दुर्दशा देखाईरहेको छ । अक्सिजनको अभावले नागरिकहरुले अनाहकमा ज्यान गुमाईरहनु परेको छ ।

यसैबीच भौतिक उपस्थितीमा हुने मनोरंजनका लागि सबै साधन बन्द भएका छन् । चलचित्र क्षेत्र गत बर्ष देखि नै नेपाली चलचित्र शत प्रतिशत बन्द छ । कोरोना महामारीले सबैलाई घरमै बस्न बाध्य बनाएको छ । संसारभरका मानिसहरुले डिजिटल माध्यमबाट चलचित्र हेर्ने बानी बनाएका छन् । त्यसो त नेपाली चलचित्रको डिजिटल माध्यम भनेको निशुल्क हेर्न पाईने यूट्युब बाहेक अन्य केहि छैन । हामी डिजिटल बजारबाट पैसा आर्जन गर्ने गरी नेपाली चलचित्रलाई विकास गर्न नसक्दाको महामारीमा यतिबेला फसेका छौं । नेपालबाट नै बनेका केहि ओटिटी प्लाटफर्ममा पनि दर्शकको उपस्थिती उत्साहजनक छैन । दैनिक अभिनयमा व्यस्त हुने सबै कलाकारहरु घरमै थन्किन बाध्य बनेका छन् । कोरोना महामारीको पहिलो लहर सकिनै लाग्दा केहि कलाकारहरुले म्यूजिक भिडियोमा अभिनय गरी अलिकति भएपनि आफुलाई व्यस्त बनाएका थिए । अहिले भने सबै बन्दको अवस्था रहेको छ । मानिसहरुले घरमै रहँदा पनि मास्क लगाएर बस्नुपर्ने अवस्था श्रृजना भएको छ ।

यसैबीच केहि कलाकारहरु भने सडकमा निस्किएका छन् । उनिहरु सडकमा निस्कनुको ध्येय भनेको कोरोना महामारीले अप्ठेरोमा परेकालाई राहत प्रदान गर्नु हो । कोहि कलाकार मानिसलाई सहयोग गरिरहेका छन् भने कोहिले भने सडकमा भोकले बेवारिसे बन्ने अवस्थामा पुगेका जनावरहरुलाई राहत दिन सडकमा पुगेका छन् ।

भिडियो हेर्नुहोस्ः

पछिल्लो समयका चर्चित अभिनेता पल शाहले अक्सिजन सहितको फोटो सामाजिक संजालमा शेयर गरेका छन् । उनले लेखेका छन्, ‘अक्सिजन सिलिन्डरको लागि हामी निरन्तर सेवामा छौ ! आजको यो कार्य सफल पार्न सहयोग गर्नु हुने सबैलाई धन्यबाद साथै मेरो साथी दुर्गेश थापा, अर्बिन पोमु लिम्बु, दमन न्यौपाने, जुरी ठाकुर, सागर भुसाल दाई (पोखरा), प्रदिप थापा दाई (दुलेगौडा) त्यसै गरी हाम्रो टिम नेपालका बिमल पन्त जी र सम्पूर्ण हाम्रो टिम नेपालका सदस्यहरु लाई मुरी मुरी धन्यबाद’ । पलले हाम्रो टीम नेपाललाई दुई लाख रुपैयाँ सहयोग समेत गरेका छन् ।

त्यस्तै, अभिनेत्री श्वेता खड्काले पनि राहतको लागि हाम्रो टिम नेपाललाई आर्थीक सहयोग गरेकी छन् । श्वेताले लेखेकी छन्, ‘हाम्रो टिम नेपालाले संचालन गरिरहेको नि:शुल्क खाना वितरण तथा कोभिड संक्रमितहरुको लागी अक्सिजन ब्यवस्थापन अभियानमा हात्तेमालो गर्न पाउँदा खुशीको अनुभुती मिलिरहेकोछ । कोरोना भाइरसका कारण सृजित लकडाउनको अवधीमा ‘कसैले पनि भोकै बस्न नपरोस् र अक्सिजनको कमीका कारण कसैले मृत्यु वरण गर्न नपरोस्’ भन्ने मानविय सोचका साथ संचालित यो अभियानमा जोडिन मौका दिने आदरणीय समाजसेवी ईशा गुरुङ दिज्यु र हाम्रो टिम नेपालप्रती हार्दिक आभार ब्यक्त गर्दछु । ‘भौतिक दुरी कायम गर्दै आत्मिय दुरीलाई मजबुद बनाऔं, मानविय सहयोगको यो अभियानमा आफ्नो सहभागिता जनाऔं’ ।

कलाकार तथा नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामाले एउटा ठुलो टिम बनाएर सेवा गरिरहेका छन् । लामाले सामाजिक संजालहरुमा लेखेका छन्, ‘काठमाडौं उपत्यकामा २४ घण्टा नै निशुल्क कोभिड एम्बुलेन्स सेवा सुरु । यि महान मनकारी पात्रहरुलाई हार्दिक नमन तथा उच्च सम्मान छ । आज बाट हामीले काठमाडौं उपत्यकामा २४सै घण्टा निशुःल्क कोभिड एम्बुलेन्स सेवा (साथमा अक्सिजन) सहित संचालन गरेका छौं । सम्पर्क नम्बरः ९८५१२७७३४२, ९८५१२३९३४२, ९८५१३१२४१७ । कृपया जस्को निजी सवारी साधन छैन, जो एबुलेन्सको खर्च तिर्न सक्नु हुन्न उहाँहरुले सम्पर्क गर्नु होला । यो कार्यक्रम संचालकहरु सबैलाई धन्यवाद दिदै लामाले कलाकारहरु निखिल उप्रेती, केदार घिमिरे ‘माग्ने बुढा’ लगायतका सेवीहरुको नाम उल्लेख गरेका छन् ।

अभिनेत्री तथा निर्देशक रेखा थापाले भने सडकमा रहेर भोकै बस्न बाध्य बनेका जनावरहरुलाई खानेकुरा सहयोग गरेकी छन् । उनले स्नेहा केयर नामक गैरसरकारी संस्थाको पहलमा सहयोग गरेकी हुन् । रेखाले सहयोग गर्दै गरेको तस्वीर शेयर गर्दै स्नेहा केयरको फेसबुक पेजमा लेखिएको छ, ‘हामीले काठमाडौंका विभिन्न स्थानमा रहेका जनावरहरुलाई खाना उपलब्ध गराएका छौं । चर्चित अभिनेत्री रेखा थापा यो कार्यक्रममा हामीसँग जोडिनुभएको छ । राम्रो कामको लागि सहकार्य गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu