अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमा उनले पिसिआर परीक्षण गराउँदा आफूमा कोरोना पुष्टि भएको जानकारी दिएकी हुन् । उनले स्वाद, गन्ध हराएको र रुघा खोकीबाहेक आफ्नो स्वास्थ्यमा अरु समस्या नभएको उल्लेख गरेकी छन् ।

उनले चाँडै निको भएर सामान्य जीवनमा फर्किने आफ्ना शुभचिन्तकहरुलाई विश्वास दिलाएकी छन् । अहिले उनी होम क्वारेन्टिनमा छिन् । लकडाउनभन्दा अगाडि चलचित्र ‘दुई नम्बरी’ को छायांकनमा व्यस्त रहेकी वर्षाले लकडाउनपछि केही म्यूजिक भिडियोमा काम गरिन् । तर, उनले साइन गरेका चलचित्रको भने काम सुरु हुन सकेन ।

नेपालमा कोरोना संक्रमण बढेसँगै यसको चपेटामा नेपाली कलाकारहरु पनि परिरहेका छन् । हास्य कलाकार हरिवंश आचार्य, निर्माता नरेन्द्र महर्जन, अभिनेत्री सरिता लमिछाने, निर्देशक ऋषि लामिछाने लगायत कोभिड पोजेटिभ देखिएपछि स्वास्थ्य लाभ गरिरहेका छन् ।




