नेपाली चलचित्रमा महिला कलाकारले पारिश्रमिकमा सहनु परेको विभेदको विषयमा महिला चलचित्रकर्मीले आफ्नो धारणा राखेका छन् । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ) को तेस्रो दिन ‘नेपाली चलचित्रमा महिला सहभागिता’ शीर्षकमा बोल्ने क्रममा अभिनेत्री करिश्मा मानन्धरले महिला कलाकारले पाउने पारिश्रमिकमा विभेद हुनु दुःखद रहेको बताएकी छिन्
‘कामको मामलामा हामी पुरुष सरह आइसकेका छौं । तर, अझै नायकभन्दा नायिकाले पाउने पारिश्रमिक कम छ । केहीबाहेक बाँकीले पारिश्रमिकमा पुरुष सहकर्मीको तुलनामा एकदमै कम पाउने गरेका छन् । यो अन्याय हो,’ उनले अगाडि भनिन्, ‘यदि महिलाले पुरुष सरह मिहिनेत गरेको छ भने उसको पनि पारिश्रमिक पुरुषको जतिकै हुनुपर्छ । सबैलाई समान नजरले हेर्नुपर्छ ।’

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पारिश्रमिकमा विभेद हुनुलाई पितृसत्ताक सोचको उपज मानिन्छन् । यो रोग चलचित्र क्षेत्रसँगै अरु क्षेत्रमा रहेको बताउँदै उनको भनाई छ । उनी भन्छिन्, ‘पारिश्रमिकको सवालमा अहिले धेरै महिला कलाकारहरु बोलिरहेका हुन्छन् । नायिकाहरुले यति पारिश्रमिक लिए भनेर समाचार पनि आउँछन् । भलै, यो सबै नायिकाको हकमा लागू भएको छैन ।’
सम्पादक हुँदै निर्देशक बनेकी रक्षा सिंह राणाले आफूले भने पारिश्रमिकको मामलामा विभेद सहनु नपरेको बताइन् । तर, चलचित्र क्षेत्रमा महिला चलचित्रकर्मीलाई दिइने पारिश्रमिकमा विभेद रहेको उनको कथन छ । छलफलको क्रममा करिश्माले नेपाली चलचित्रको इतिहास पल्टाएर हेर्दा महिलाले भन्दा पुरुष निर्देशकले महिला कलाकारलाई राम्रोसित प्रस्तुत गरेका बताएकी छिन् ।


