सकियो ‘निफ’, ‘आमा खान्डो’ बन्यो उत्कृष्ट चलचित्र



पाँच दिनसम्म अनलाइनको माध्यमबाट चलेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) सोमवारबाट समापन भएको छ । महोत्सवमा फिचर चलचित्रतर्फ डान्डुप छिरिङ निर्देशित ‘आमा खान्डो’ उत्कृष्ट चलचित्र घोषित भएको छ । निर्देशकतर्फको अवार्ड पनि यही चलचित्रले जित्यो । चलचित्रले एक लाख नगद पुरस्कार जितेको छ । त्यस्तै, ‘लाटकोसेरो’ बाट नविन शिल्पकार र सरिता गिरी उत्कृष्ट नायक-नायिका घोषित भए ।

सिरिस गुरुङको निर्देशन तथा छायांकनमा तयार भएको चलचित्रले छायांकनतर्फको अवार्ड पनि जितेको छ । फिचर चलचित्रतर्फकै उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आइ एम’ बाट सर्जियो बासोले आफ्नो पोल्टामा पार्दा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर चलचित्रको अवार्ड बात्र्या बसु निर्देशित ‘डिक्स्नेरी’ ले जित्न सफल भयो । यो चलचित्रले १५ सय अमेरिकी डलर प्राप्त गरेको छ ।

सर्ट फिल्म तथा डकुमेन्ट्री अन्तर्गत प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय चलचित्रमध्ये दक्षिण कोरियाको ‘गड्स डटर डान्सेज’ ले ५ सय पुरस्कार राशीको बागमती पुरस्कार जित्दा नेपालबाट राजेशप्रसाद खत्री निर्देशित ‘जुलुङ्गो’ उत्कृष्ट ठहरियो । यो चलचित्रले पनि ५ सय डलर पाएको छ । त्यस्तै, एनिमेटेड विधामा फिनल्यान्डको ‘उबरफ्रग’ ले ७ सय ५० डलर पुरस्कार राशिको मञ्जुश्री अवार्ड पायो ।

महोत्सवमा डकुमेन्ट्र तर्फको अवार्ड भने स्वीजरल्यान्डको ‘रिटर्न टु दि लस्ट इडेन’ ले जितेको छ । यो चलचित्र १ हजार डलर राशीको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्‍यो । यो विधामा कोरोना महामारीको विषयमा बनेको गणेश पाण्डे निर्देशित ‘सिभिल सोल्जर्स’ उत्कृष्ट भयो । यसले पनि ५ सय डलर पुरस्कार पाएको छ । बिहीबारबाट सुरु भएको महोत्सवमा ६६ चलचित्र देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu