निर्माता अर्जुन कुमारले नेटफ्लिक्स, अमेजन जस्ता ओटीटी प्लेटफर्ममा नेपाली चलचित्र जानु तत्काललाई दिवा सपना रहेको बताएका छन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को छलफल कार्यक्रममा उनले भने- ‘नेपालमा यूट्युबबाहेक डिजिटल प्लेटफर्ममा चलचित्र हेर्ने दर्शक एक प्रतिशत पनि छैनन् । जबसम्म सबै दर्शकको पहुँचमा पुग्दैन, तबसम्म ओटीटी प्लेटफर्मबाट करोडौं कमाउँछु भन्नु सपना मात्रै हो ।’
अबको २० वर्ष नेटफ्लिक्स, अमेजन जस्ता ओटीटी प्लेटफर्ममा नेपाली चलचित्र रिलिज हुन्छ भनेर आफूले कल्पना पनि नगरेको उनले बताए । ओटीटी प्लेटफर्ममा चलचित्र रिलिज गर्न नेपालमै सहज र सुलभ रुपमा ओटीटी प्लेटफर्मको विकास हुनुपर्ने उनको भनाई छ ।

‘म ‘चपली हाइट ३’ को सम्पूर्ण राइट्स दिन तयार छु । मलाई नाफा चाहिएन । तर, के नेपालमा सुरु भएका ओटीटी प्लेटफर्मले चलचित्रमा भएको खर्च मात्र पनि दिन तयार छन् ? अनि ओटीटीमा चलचित्र रिलिजको सपना किन देख्नु ?’, उनले भने ।
निर्माता कुमार अहिलेको अवस्थामा नेपाली चलचित्र रिलिजका लागि सिनेमा हलको विकल्प नभएको बताउँछन् । नेपाली दर्शकले चलचित्र हेर्ने गरेको नभइ जबरजस्ती देखाइने गरेको पनि उनले बताए । ‘नेपाली चलचित्र हेर्ने दर्शक कहाँ छन् ? दर्शकले चलचित्र हेरेका होइनन्, जबरजस्ती देखाइएको हो,’ उनले तितो यथार्थ ओकले । नेपाली निर्माताले चलचित्र बनाएर सेवा गरिरहेको उनको भनाई छ ।




