नेपालमा कोरोना भाइरसको संक्रमणबाट सर्वसाधारणसँगै कलाकार पनि अछुतो रहन सकेका छैनन् । कुनै न कुनै माध्यमबाट उनीहरु संक्रमित भइरहेका छन् । कोरोनाको चपेटामा हास्य कलाकार शिवहरी पौडेल पनि परेका छन् । रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यतिबेला उनको घर नजिकै रहेको बलम्बु अस्पतालमा उपचार भइरहेको छ । पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिनमा पूर्ण स्वास्थ्य भएर घर आउने कलाकार जीतु नेपालले फेसबुकमार्फत् जानकारी दिएका छन् ।
कलाकार पौडेललाई दर्शकले ‘प्वाक्क मुखमा हानु जस्तो’ थेगोबाट चिन्ने गरेका छन् । उनले लामो समय हास्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’ मा काम गरेका थिए । पछिल्लो समय उनी चलचित्र अभिनयमा व्यस्त छन् । उनले चलचित्र ‘लक्का जवान’ बाट निर्देशनमा पनि डेब्यू गरेका छन् । जुन प्रदर्शनको पखाईमा रहेको छ ।




