‘माइतीघर २’ का निर्देशकको निधन, अनमोलले दिए श्रद्धाञ्जली



अभिनेता अनमोल केसीलाई मुख्य भूमिकामा लिएर चलचित्र ‘माइतीघर २’ बनाउन लागेका निर्देशक सुबोध चोपडाको निधन भएको छ । उनको कोरोनाका कारण भारतको एक अस्पतालमा निधन भएको हो । उनी निषेधाज्ञाभन्दा अगाडि चलचित्रको तयारीका लागि नेपालमा थिए । पितालाई कोरोना पुष्टि भएपछि चैतमा भारत फर्किएका उनको शुक्रवार उपचारको क्रममा निधन भएको हो ।

निर्देशक चोपडाको पिताको पनि कोरोनाका कारण निधन भइसकेको जानकारी प्राप्त छ । उनी चलचित्रको तयारीका लागि यही बैशाख १६ गते नेपाल आउने तयारीमा थिए । तर, त्यही बेला कोरोना संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए । ‘माइतीघर २’ को कथा उनी स्वयंले लेखेका हुन् । अभिनेता अनमोल केसीले फेसबुकमार्फत् निर्देशक चोपडाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मेरो नयाँ प्रोजेक्ट ‘माइतीघर २’ का निर्देशक सुबोध चोपडा सर हामीबीच रहनु भएन । मलाई अझै पनि तपाईंको हँसिलो र प्रतिभाशाली दिमाग याद छ । तपाईं हामीबीच नभए पनि तपाईंको काम सधैं जीवित रहनेछ । तपाईंको सपना वास्तविकतामा बदल्न सुपर काजल फिल्म्स टिम पूरै कोशिश गर्नेछ ।’

निर्माता भुवन केसीले पनि सुबोधप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘माइतीघर २’ पूरा गर्ने वाचा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘उहाँको ड्रिम प्रोजेक्ट थियो ‘माइतीघर २’ । महामारी सकिने वितिक्कै यसको काम थाल्ने भनेर केही दिनअघि मात्र पनि कुरा भएको थियो । तर, अचानक यस्तो दुःखद खबर सुन्दा विश्वास गर्न पनि सकिइरहेको छैन । ‘माइतीघर २’ उहाँको प्यासन प्रोजेक्ट भएकाले श्रद्धाञ्जली स्वरुप भए पनि यो फिल्म पूरा गर्ने वाचा गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu