चलचित्रकर्मी, गीतकार तथा उपन्यासकार चेतन कार्कीको निधन भएको छ । आइतवार छाउनीस्थित सैनिक अस्पतालमा उनको ८४ वर्षको उमेरमा निधन भएको हो । बैशाख १६ गते भारतको देहरादूनबाट काठमाडौं आएका उनलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । उनको आइतवार विहान १० बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

‘विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ जस्ता चलचित्रको निर्देशन गरेका उनले थुप्रै चलचित्रको स्क्रिप्ट र गीत लेखेका छन् । उनले कलाकार तथा निर्देशक नीर शाहको पहिलो चलचित्र ‘परिर्वतन’ देखि स्क्रिप्ट लेखन सुरु गरेका थिए । स्याङ्जामा जन्मिएका कार्कीका प्रकाशित उपन्यासहरुमा ‘आत्मा बेचेको छैन, ढलेको गिलास र हनिमुन’ चर्चित छन् । कार्कीको श्रीमती र २ छोरा छन् ।
चेतन कार्कीको साहित्यिक रचनाकर्मको शुरुवात र प्रकाशन सन् १९५२ मा भारतको देहरादूनमा हिन्दीमा कविता लेखेर भएको थियो । उनलाई पिताले ४ वर्षको उमेरमै दाजुसँग देहरादून लगेर गोर्खा मिलिट्री स्कूलमा भर्ना गरिदिएका थिए । उनी त्यहाँ नौ कक्षासम्म पढे । उनले नेपालीसँगै हिन्दी र उर्दूमा पनि कविता लेखेका छन् । उनका तीनै भाषामा कविता पुस्तक प्रकाशित छन् ।
पोखराको मत्स्य विभागमा ६ वर्ष जागिर खाएका उनले त्यसपछि त्यहाँ राजीनामा दिएर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । उनको निधनप्रति चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् । नीर शाहले चलचित्र क्षेत्रले एउटा ज्यूँदो इतिहास गुमाएको बताएका छन् । त्यस्तै, चेतन निर्देशित चलचित्र ‘पहिलो प्रेम’ मा काम गरेकी करिश्मा मानन्धरले ‘तिमी मेरो हिरो’ भन्दै श्रद्धाञ्जली दिएकी छन् ।




