विश्व बजारमा आफ्नो पकड बनाएको ओटीटी प्लेटफर्म नेटफ्लिक्ससँग सहकार्य गरेर अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले निर्माण गर्न लागेको विश्वकै पहिलो सगरमाथा आरोही नेपाली तेन्जिङ नोर्गे शेर्पाको बायोपिकका लागि मुख्य पात्रको खोजी सुरु भएको छ । अष्ट्रेलियाको प्रख्यात कास्टिङ कल कम्पनी डेनीलङले तेन्जिङ नोर्गेको भूमिकाका लागि अडिसन आह्वान गरेको हो ।

कम्पनीको बेवसाइटमा अभिनयको अनुभव नहुनेलाई पनि कास्टिङको मौका दिइने उल्लेख छ । २५ देखि ४० वर्ष उमेर समुहका तिब्बत, शेर्पा र नेपालीले अडिसनका लागि आवेदन दिन सक्नेछन् । सुरुवाती चरणमा तेन्जिङको खोजी भइरहेको र केही महिनासम्म अडिसन चल्ने कम्पनीले जनाएको छ । आवेदन दिनेको शारीरिक ढाँचा खेलाडी शैलीको हुनुपर्ने उल्लेख गरिएको छ ।
डेनीलङले २०२२ मा चलचित्रको छायांकन नेपाल र न्यूजिल्यान्डमा हुने जानकारी दिएको छ । सन् २००३ मा इद डग्लासले लेखेको ‘तेन्जिङ : हिरो अफ एभरेस्ट’ पुस्तकमा आधारित भएर निर्माण हुन लागेको चलचित्रलाई जेनिफर पिडमले निर्देशन गर्नेछिन् । तेन्जिङले सगरमाथा चढ्न गरेको संघर्ष, मेहनत र सफलतालाई देखाउने चलचित्रको नेपालमा सगरमाथा क्षेत्रमा छायांकन हुनेछ ।




