कोरोना संक्रमण भयावह रुपमा फैलिन थालेपछि देशभरका सरकारी तथा नीजि अस्पतालमा अक्सिजनको चर्को अभाव देखिएको छ । पहुँच नहुने र आर्थिक अवस्था कमजोर हुने कोरोनाका बिरामीले अक्सिजन नपाएरै ज्यान गुमाउनु परेको छ । अस्पतालमा अक्सिजनको अभाव भएको खबर सार्वजनिक हुन थालेपछि नेपाली कलाकारहरुले सहयोगका लागि हात अगाडि बढाएका छन् ।
यसैक्रममा, हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले कोरोनाका बिरामीको उपचारका लागि अस्पताललाई अक्सिजन ग्यास सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका उनले सोमवार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शय्याको कोभिड अस्पतालका लागि ५० थान अक्सिजनसहितको सिलिन्डर हस्तान्तरण गरेका हुन् ।

महामारीको समयमा मानवता ठूलो रहेकाले अक्सिजन नपाएर कसैले ज्यान गुमाउनु नपरोस् भनेर अस्पताललाई अक्सिजन सहयोग गरेको धुर्मुसले बताएका छन् । देशमा देखिएको अक्सिजनको अभावलाई मध्यनजर गर्दै उनी बर्दिवासमा अक्सिजन प्लाट स्थापना गर्ने योजनामा समेत छन् । उनले संक्रमितलाई आत्मबल बढाउन, डर र त्रासबाट विचलित नहुन आग्रह गरेका छन् ।
धुर्मुस सुन्तली फाउन्डेसनले महामारीबाट पीडित भएकाहरूको राहत र उद्धारका लागि आकस्मिक हेल्प कक्ष स्थापना गरेर एम्बुलेन्स, रक्तदान लगायतका सेवा दिँदै आएको छ । हालसम्म हेल्प डेस्कबाट ८ सयभन्दा बढी व्यक्तिलाई सेवा दिइसकेको र भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्रीहरु पनि हस्तान्तरण गरिएको कलाकार कट्टेलले फेसबुकमार्फत् जानकारी दिएका छन् ।




