अस्पतालहरुमा कोरोनाका बिरामीको उपचारका लागि अक्सिजनको अभाव भएपछि नेपाली चलचित्रकर्मीहरुले सहयोगी हात अगाडि बढाएका छन् । पल शाह, राजाराम पौडेल, पुष्प खड्का, श्वेता खड्का लगायतका चलचित्रकर्मीले अक्सिजन जुटाउन आर्थिक सहयोग गरेका छन् । पल त कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन आफैं फिल्डमा खटिएका छन् ।

यसैक्रममा, अभिनेता नाजिर हुसेनले कोरोना संक्रमितका लागि अक्सिजन जुटाउन आर्थिक सहयोग गरेका छन् । उनले मंगलवार नेपाली बैज्ञानिक महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई एक लाख नगद सहयोग गरेका हुन् । यो संस्थाले महामारीको समयमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री र कोरोनाका बिरामीलाई अक्सिजन ग्यास निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
सहयोग हस्तान्तरणपछि नाजिरले भनेका छन्, ‘दर्शककै साथ र मायाले आज म यहाँसम्म आइपुगेको हुँ । आज उहाँहरुलाई कोरोनाका कारण गाह्रो हुँदा म चुप लागेर बस्नु हुँदैन भनेर सहयोग गरेको हुँ । कोरोना महामारीको समयमा हामी सबैले आफूले सकेको सहयोग गर्नुपर्छ । मैले मेरो तर्फबाट गरेको यो सानो सहयोगले कसैको जीवन बच्न मद्दत मिल्छ भनेर अपेक्षा गरेको छु ।’




