स्वर्गीय छेतेन गुरुङ्ग निर्देशित चलचित्र ‘डमरुको डण्डीबियो’ ओटीटी प्लेटफर्ममा निःशुल्क हेर्न पाइने भएको छ । कोभिड १९ को दोश्रो लहरका कारण भएको निषेधाज्ञाका कारण घरभित्र बस्न बाध्य दर्शकका लागि सिनेमाघर एपमा यो फिल्म निःशुल्क उपलब्ध गराएको हो । चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, लक्ष्मी बर्देवा लगायतको अभिनय छ ।
चलचित्रका अभिनेता तथा सिनेमाघर एपका खगेन्द्र लामिछानेले लकडाउनको समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर सिनेमाघर एपको तर्फबाट नेपालमा बस्ने दर्शकहरुको लागि निःशुल्क चलचित्र हेर्न मिल्ने व्यवस्था मिलाएको बताए । ‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले पछिल्ला दिनमा नेपालीलाई झनै धेरै त्रसित बनाएको छ । हाम्रो लागि यो समय निकै नै कठीन र चुनौतीपूर्ण छ । घरमा बस्दा समय कटाउन गाह्रो हुन्छ । त्यो समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर यो चलचित्र निशुल्क हेर्न मिल्ने व्यवस्था मिलाएका छौँ’, लामिछानेले बताए ।

अहिले यो सुविधा नेपालमा मात्र रहेको र बिस्तारै अरु देश हरुमामा पनि क्रमश: उपलब्ध हुँदै जाने सिनेमाघर एपका कार्यकारी अधिकृत सागर खरेलले बताए । ‘डमरुको डन्डीबियो हाम्रो एपमा एकदमै रुचाइएको चलचित्र हो, हामीले अहिलेसम्म एस्लाई ‘पेड सर्भिस’ को रुपमा राखेको थियौं । यो हाम्रो एपमा सबैभन्दा धेरै किनेर हेरिएको चलचित्र हो, तैपनि हामीले यो लकडाउनको अवस्थामा सबैलाई मनोरन्जन होस् भन्ने हेतुले नि:शुल्क गरेको छौँ’, खरेलले बताए ।
चलचित्र हेर्नको लागि एप स्टोरमा गएर सिनेमाघर एप अपडेट गर्नु पर्ने हुन्छ । सिनेमाघर एप एण्ड्रोइड, आइओस, अमेजन फायर टिभी, एण्ड्रोइड टिभी लगाएतमा उपलब्ध छ ।




