पूर्वी मोरङ जिल्लाको पथ्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय घर धुरीलाई अभिनेता द्वय दीलिप रायमाझी र रमित ढुंगानाले शुक्रवार खाद्यन्न वितरण गरेका छन् । ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को तर्फबाट राहत वितरण गरिएको हो । यो संस्था नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको टिमले चलाएको हो ।

प्रतिव्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले खाद्यान्न वितरण गरिएको फाउन्डेसनका नेपाल कार्यकारी निर्देशक दीलिप रायमाझीले जानकारी दिए । डिल्ली अधिकारीको नेतृत्वमा रहेको फाउन्डेसनले गत वर्ष पनि करीब १ करोड २४ लाख नगदसहित खाद्यान्न वितरण गरेको थियो । सो राहत वितरण गर्न पनि दीलिप रायमाझी शिविरमा पुगेका थिए ।

फाउन्डेसनले शिविरमा रहेका ८० वर्ष नाघेका वृद्धवृद्धालाई वृद्धभत्ता र अशक्त व्यक्तिलाई हरेक महिना अशक्त भत्ता दिने तयारी पनि गरेको छ । भुटानी शरणार्थीले नेपाली नागरिकताको माग गरेका कारण चाँडै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउन लागेको दीलिपले बताए । त्यस्तै, अभिनेता रमित ढुंगानाले भुटानी शरणार्थीहरु नेपाली नै भएको र उनीहरुलाई नेपाली नागरिकता प्रदान गर्न सम्बन्धित निकायमा आफूले आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।




