कोरोना महामारीको समयमा नेपाली चलचित्रकर्मीहरुले समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् । कसैले कोरोनाका बिरामीलाई अक्सिजन उपलब्ध गराउन आर्थिक सहयोग गरेका छन् भने कसैले आर्थिक अभाव कमजोर भएका कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अक्सिजनसहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । यो समयमा चलचित्रकर्मीहरु एकजुट भएका छन् ।
अभिनेत्री श्वेता खड्काले गत महिना कोरोनाका बिरामीलाई अक्सिजन जुटाउन ५० हजार आर्थिक सहयोग गरेकी थिइन् । उनले भोका व्यक्तिहरुलाई निःशुल्क खाना वितरण गर्ने अभियानमा पनि सहयोग गरेकी छन् । शनिवार निःशुल्क खाना वितरण गर्न उनले सामाजिक कार्यमा सक्रिय संस्था हाम्रो टिम नेपाललाई ३० हजार सहयोग गरेकी हुन् ।

श्वेताले सामाजिक क्षेत्रलाई अभिनयले नभइ मनले जोडेर राख्न चाहने बताएकी छन् । उनले शनिवार फेसबुकमा लेखेकी छन्, ‘हो, मेरो अभिनयको क्षेत्र भिन्नै छ । जहाँ म नचाहेर पनि हाँस्नु पर्छ, मन नलागि नलागि रुनु पर्छ । थाकेको हुन्छु, नाच्नु पर्छ । मौन बस्ने मन हुँदा हुँदै, गुनगुनाएको जस्तो गर्नु पर्छ । त्यो सिनेमाको एउटा पाटो हो । तर सामाजिक कामको जिम्मेवारी अर्कै छ । जहाँ अभिनयभन्दा पनि वास्तविक जीवनको भोगाईमा समाहित भइन्छ ।’
वास्तविक जीवनमा अर्काको दुःख आफ्नै लागेर रोइने र अर्काको सुखमा रमाउने गरेको उनले उल्लेख गरेकी छन् । उनी अगाडि लेख्छिन्, ‘जहाँ मन जोडिन्छ नि हजुर, त्यहाँ भावना मिल्छ । म, मेरो सामाजिक क्षेत्रलाई मनले जोडेर राख्न चाहन्छु, अभिनयले होइन । मेरो क्षमता, गक्षता र शिपले जे भ्याउँछ त्यही प्रयोग गर्दै मनबाट नै सामाजिक सेवाको क्षेत्रमा होमिने छु । मेरो जिन्दगी रहेसम्म म समाजप्रतिको जिम्मेवारी भुल्ने छैन । यो मेरो प्रण हो ।’




