अस्पतालहरुमा अक्सिजनको अभाव भएपछि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले कोरोनाका बिरामीका लागि अक्सिजन सहयोग गरेको छ । विश्वभरका इनासका समितिहरुबाट जुटेको रकमबाट ५० थान अक्सिजन रिफिल गरी मंगलवार बालाजुस्थित जनमैत्री अस्पताललाई हस्तान्तरण गरिएको इनासका नेपाल संयोजक तथा गीतकार दयाराम पाण्डेले जानकारी दिए ।

रवि लामिछानेको समुहले जनमैत्री अस्पतालसँग सहकार्य गरेर कम खर्चमा कोरोनाका बिरामीको उपचार गर्दै आएको छ । सोही अस्पतालमा उपचारार्थ कोरोना संक्रमितका लागि इनासले अक्सिजन सहयोग गरेको हो । इनासका ग्लोबल अध्यक्ष कमला दाहालको नेतृत्वमा अस्पतालमा उपचारार्थ असाह्यका लागि अक्सिजन सहयोग गरिएको इनासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अस्पताललाई अक्सिजन हस्तान्तरणपछि अध्यक्ष दाहालले सानो सहयोगले कोरोनाका बिरामीको ज्यान बच्छ भने त्यस्तो सत्कर्ममा इनास सधैं क्रियाशिल हुने बताइन् । उनले यो सहयोग सुरुवात मात्र भएको भन्दै आगामी दिनमा अपांगता भएका व्यक्तिहरु, दैनिक ज्यालादारी गर्ने मजदुर र अन्य अस्पतालमा समेत बुझेर सहयोगको क्रमलाई निरन्तरता दिने आश्वासन दिएकी छन् ।