राजबल्लभ भन्छन्, ‘ढिलो चाँडो अभिनयमा फर्किन्छु’ (भिडियो)



‘पर्खी बसेँ, मसान, छोडी गए पाप लाग्ला’ जस्ता सम्झनलायक चलचित्रमा काम गरेका अभिनेता राजबल्लभ कोइराला पछिल्लो समय अभिनयमा सक्रिय छैनन् । उनले नयाँ नेपाली चलचित्रमा काम नगरेको ७-८ वर्ष भइसकेको छ । उनी अचेल परिवारसँग अमेरिकामा बस्दै आएका छन् । तीन वर्ष अगाडि विवाह गरेका उनले अमेरिकाको आइटी कम्पनीमा काम गर्दै आएका छन् ।

एक सन्तानका पिता भइसकेका उनलाई अभिनयमा फर्किने इच्छा नभएको भने होइन । छोरीको जन्म भएपछि उनी केही महिना नेपाल बसेर चलचित्रमा काम गर्ने योजनामा थिए । तर, त्यसै बेला पहिलो चरणको कोरोना महामारी सुरु भएपछि चलचित्रमा कमब्याक गर्ने उनको सपना पूरा हुन सकेन । तर, राजबल्लभले ढिलो चाँडो आफू अभिनयमा फर्किने विश्वास दिलाएका छन् ।

ठूलोपर्दा टिभीसँगको कुराकानीमा उनले भनेका छन्, ‘म ढिलो चाँडो चलचित्रमा आवश्य आउँछु । तर, कहिले आउँछु भन्ने मिति थाहा छैन । काम देखाउने व्यग्रता भए पनि जसले चलचित्रमा लगानी गर्छ, उसको पसिनाको मुल्य पनि हुनुपर्‍यो नी ! कि त आफैंले लगानी गर्नुपर्‍यो, त्यसका लागि पनि लोट्री नै पर्नुपर्छ ।’ कसैलाई झुटो आश्वासन दिएर चलचित्रमा काम गर्ने सोचमा आफू नरहेको उनको भनाई छ ।

चलचित्र निर्माण जोखिमपूर्ण व्यवसाय रहेको र निर्माताको पीडा देख्दा आफूलाई अमिलो हुने गरेको राजबल्लभ सुनाउँछन् । चलचित्रले लगानी उठाउन नसक्दा आफूले पारिश्रमिक समेत छाडेको उनले स्मरण गरे । तर, पछिल्लो समय नेपाली कलाकारहरुले महंगो पारिश्रमिक डिमान्ड गरेको सुन्दा उनी छक्कै पर्छन् । कलाकारलाई नेपाली चलचित्रको बजार र दर्शक हेर्न उनको आग्रह छ ।

उनी अगाडि भन्छन्, ‘संसारभर छरिएका नेपालीसम्म नेपाली चलचित्र पुग्न सकेको भए हामी पारिश्रमिक डिमान्ड गर्न लायक हुन्थ्यौं । तर, हामी कहिँ पुग्न सकेका छैनौं । पारिश्रमिक तिरे बराबर आम्दानी नै हुँदैन भने महंगो पारिश्रमिक डिमान्ड गर्नुको अर्थ छैन । निर्माता र आफूलाई मर्का नपर्ने गरी पारिश्रमिक लिनुपर्छ । कलाकारले डिमान्ड गरेको पारिश्रमिक सुनेर म आफैं पनि दंग पर्छु ।’

आफूले जीवनमा तीन लाखभन्दा बढी पारिश्रमिक नपाएको राजबल्लभ बताउँछन् । कथावस्तु राम्रो लाग्दा डेढ लाखसम्म पनि काम गरेको उनले बताए । निर्माताको लगानी नडुब्ने गरी पारिश्रमिक डिमान्ड गर्न उनको कलाकारलाई सुझाव छ । कोरोनाका कारण अहिले चलचित्र निर्माण र प्रदर्शन गर्न सजिलो नभएकाले अब चलचित्र रिलिजका लागि विकल्प खोज्नुपर्नेमा उनले जोड दिएका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu