कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण गरिब, असाहाय, वृद्ध, अपाङ्गहरुलाई आश्रय दिँदै आएका संस्थाहरु समस्यामा परेपछि नेपाली कलाकारहरु सहयोगका लागि अगाडि आएका छन् । यसैक्रममा, एक समयका चर्चित अभिनेता रमित ढुंगानाले मंगलवार काठमाडौंको जोरपाटीमा रहेको एक बाल गृहलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

निषेधाज्ञा हुनुभन्दा एक हप्ता अगाडि अमेरिकामा नेपाल आएका उनले जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’ लाई एक लाख रुपैयाँ नगद सहयोग गरेका हुन् । विगत १३ वर्षदेखि उक्त संस्था चलाइरहेकी श्वेता केसीलाई फाउण्डेसनमै पुगेर रमितले रकम हस्तान्तरण गरे । उक्त बाल गृहमा २५ जना अनाथ बालबालिकाहरु आश्रित छन् ।

महामारीको समयमा बाँचौं र बचाऔं भन्ने उद्देश्यले सहयोगी हात अगाडि बढाएको रमितले बताएका छन् । उनले गएको शुक्रवार ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को तर्फबाट मोरङको पथ्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय परिवारलाई खाद्यन्न वितरण गरेका थिए । उनले यो समयमा सबैले सकेको सहयोग गर्न आग्रह गरेका छन् ।