कोरोनाका कारण चलचित्रका काम ठप्प भएपछि बिहान बेलुका हातमुख जोर्न समेत समस्या भएका प्राविधिकहरुलाई अभिनेत्री सुमिना घिमिरेले खाद्यान्न सहयोग गरेकी छन् । बुधवार जडिबुटीमा उनी र उनका श्रीमान रोशन सापकोटाले चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई खाद्यान्न हस्तान्तरण गरे । उनीहरुले चालिस जना प्राविधिकलाई एक महिनासम्म पुग्ने रासन सहयोग गरेका हुन् ।

विवाहपछि अभिनयबाट टाढा बसेकी सुमिनाले क्यामेरा पछाडि आफूलाई रेखदेख गर्ने प्राविधिकहरु समस्यामा रहेको सुनेपछि सहयोग गरेको बताइन् । वर्षौंसम्म सँगै काम गरेका प्राविधिकहरुलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उनले बताएकी छन् । पेशाले पाइलट रहेका उनका श्रीमान सापकोटाले श्रीमतीले काम गरेको क्षेत्रको आफूलाई पनि एकदमै माया लाग्ने बताए ।
विवाहपछि सुमिनाले घर व्यवहार सम्हालेर बसेका कारण आफूले पनि उनले काम गरेको क्षेत्रलाई माया गर्नुपर्छ भनेर प्राविधिकहरु सहयोग गरेको रोशन बताउँछन् । उनले आफूले सुमिनालाई चलचित्रमा फर्किन आग्रह गरेको पनि बताए । सुमिनाले भने अभिनयप्रति अझै इच्छा भए पनि विवाहपछि आफूले घरपरिवारलाई समय दिइरहेको बताएकी छन् । चलचित्र ‘दुलही’ बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।