कोरोना संक्रमण रोकथामका लागि गरिएको निषेधाज्ञापछि चलचित्र क्षेत्र ठप्प छ । जसले गर्दा यस क्षेत्रमा आश्रित हजारौं प्राविधिकहरु समस्यामा परेका छन् । कति प्राविधिकको घरमा चुल्हो समेत बल्न छाडेको छ । कोरोनाका कारण प्राविधिकहरु समस्यामा परेपछि चलचित्रकर्मीहरुले सहयोग गर्न थालेका छन् । कसैले खाद्यान्न सहयोग गरेका छन् भने कसैले नगद सहयोग गरेका छन् ।

सदाबहार अभिनेत्री करिश्मा मानन्धर पनि प्राविधिकहरुलाई सहयोग गर्न अगाडि आएकी छन् । उनले बिहीवार आफ्नै उपस्थितिमा ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरिन् । उनले चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास भर्नका लागि जनही १५ सय सहयोग गरेकी हुन् । उनको हातबाट सहयोग पाउँदा प्राविधिकहरुले राहतको महशुस गरेका थिए ।
नेपाल चलचित्र प्राविधिक संघको सहकार्यमा प्राविधिकलाई राहत वितरण गर्दै उनले प्राविधिकहरु चलचित्रकर्मीको घरको सदस्य भएकाले सबैले सकेको सहयोग गर्न आग्रह गरेकी छन् । करिश्माले भनेकी छन्, ‘कोरोना महामारीको समयमा हामी सबैले हातेमालो गर्न जरुरी छ । प्राविधिकहरु हाम्रा आफ्नै घरका सदस्यहरु हुन् । त्यसैले जति सक्छौँ, त्यति सहयोग गर्न आग्रह गर्छु ।’




