‘गुराँस’ ले जित्यो नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड



सौरभ राईले गर्ने नेपाली चलचित्र ‘गुराँस’ ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने चलचित्रले १० हजार युरो रकम रहेको हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो । नेपालमा यो चलचित्र आइसफल प्रोडक्सनले निर्माण गर्न लागेको हो । आइसफल प्रमुख रामकृष्ण पोखरेलले चलचित्रले १४ लाख बराबर रकम प्राप्त गरेको जानकारी गराए ।

निर्माता पोखरेलका अनुसार, कालिम्पोङ मुल थलो भएको नेपालीभाषी सौरभको यो दोस्रो फिचर चलचित्र हो । यसअघि उनले निर्देशन गरेको ‘निम्तो’ ले मुम्बई चलचित्र फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार ग्रान्ड प्राइज जितेको थियो । विश्वका थुप्रै चलचित्र फेस्टिभलमा छनोट भएको यो चलचित्रको वल्र्ड प्रिमियर भने नेदरल्यान्डको प्रतिष्ठित फिल्म फेस्टिभल रोट्रेड्याममा भएको थियो ।

निर्माता पोखरेलले दुई वर्षदेखि चलचित्रमा काम भइरहेको र हुबर्ट बल्सको फन्डसँगै यसले गति पाउने बताए । ‘सौरभसँग मेरो भेट केही वर्ष पहिले गोवामा भएको थियो । बीचमा उनले चलचित्रको आइडिया सुनाए र मन परेपछि ल मिलेर गरौँ भनेर हामीबीच सहमति थियो । सोही अनुसार काम भइरहेको छ,’ पोखरेलले भने, ‘यो रकमले हामी स्क्रिप्ट लेखनको काम सक्छौं । अर्को साल फ्लोरमा जाने छौँ ।’

चलचित्रमा आइसफलसँगै क्राउलिङ एन्जलको पनि निर्माणमा साझेदारी रहनेछ । यो बाहेक सञ्जय गुलाटी पनि यो चलचित्रको निर्माणमा साझेदार रहनेछन् । आइसलफले यसअघि निर्माण गरेको ‘ऐना झ्यालको पुतली’ प्रदर्शनको पर्खाइमा छ । सुजित बिडारीको निर्देशन रहेको यो चलचित्र दक्षिण कोरियाको बुसानको मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu