निर्देशक तथा कलाकार दिनेश डिसीले नाच्न नआउने भएकै कारण प्रायः चलचित्रमा आफूले भिलेनको अभिनय गरेको बताएका छन् । आफू अभिनीत चलचित्र ‘घाम छाँया’ को ‘पहिलो भेटमै’ बोलको गीतको एक टुक्रा टिकटकमा भेटिएपछि फेसबुकमा शेयर गर्दै उनले लेखेका छन्, ‘हिरो हुने मन कसलाई हुँदैन र ? मलाई पनि थियो । तर, नाच्न नआउने हुनाले मैले करीब ५५ वटा चलचित्रमा भिलेनकै अभिनय गरेँ ।’

चलचित्रमा काम गर्दाको क्षण स्मरण गर्दै उनले अगाडि लेखेका छन्, ‘निर्देशक किशोर रानाले एउटा चलचित्रमा हिरोमा अफर गर्नुभयो, ‘घाम छाँया’ (२०५७) । वकिलको रोल हो र गीत छैन भनेपछि मैले अभिनय गरेँ । तर पछि एउटा गीत राखियो । वकिलले गर्ने डिसेन्ट मुभमा गीत खिच्छु भनेर मलाई नृत्य निर्देशक बसन्तजं रायमाझीले सरले कन्भिन्स गराउनुभयो । कलाकार थिइन्, सुष्मा कार्की ।’
टिकटकले पुरानो याद ताजा गराएकोमा उनले खुसी व्यक्त गरेका छन् । यो चलचित्रका निर्देशक राना, नृत्य निर्देशक रायमाझी र कलाकार कार्कीको निधन भइसकेको छ । दिनेश डिसी अभिनयसँगै निर्देशनमा पनि सक्रिय छन् । ‘मायाज् बार, फूलै फूलको मौसम तिमीलाई र छ एकान छ’ चलचित्रको निर्देशन गरेका उनी अहिले कान्तिपुर टेलिभिजनमा स्टेशन म्यानेजरको रुपमा आबद्ध छन् ।