निर्देशक तथा नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले कोरोनाका कारण २२ वटा सिनेमा हल सधैंका लागि बन्द भएको र ३०/४० वटा सिनेमा हलहरु पनि बन्द हुने अवस्थामा रहेको बताएका छन् । अध्यादेशमार्फत् सार्वजनिक भएको आर्थिक वर्ष २०७८/७९ को बजेटप्रति असन्तुष्टि जनाउँदै उनले चलचित्र क्षेत्रको अवस्थाबारे गम्भीर हुन सरकारको ध्यानकर्षण गराएका छन् ।
उनले सोमवार फेसबुकमा स्टाटस लेख्दै ४० वटा चलचित्र २ वर्षदेखि निर्माण सकिएर रिलिजका लागि तयार भएको र एउटा चलचित्रको लगानी औसतमा २ करोड हुने भएकाले कोरोनाका कारण ती सबै चलचित्रको लगानी जोखिममा रहेको बताएका छन् । यस्तो अवस्थामा सरकार गम्भीर नभए चलचित्र क्षेत्र कहिल्यै नउठ्ने गरी थला पर्ने उनी बताउँछन् । उनले संविधानको व्यवस्था अनुसार बजेट फेरबदल गर्न माग गरेका छन् ।

कोरोनाका कारण संकटमा परेको चलचित्र क्षेत्रलाई पुनः स्थापित गर्न आर्थिक प्याकेट ल्याउन आग्रह गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘चलचित्र नबनेपछि कलाकार, प्राविधिक, लेखक, संगीतकार, गायक, गायिका सबै बेरोजगार भएका छन् । बनिसकेका चलचित्र र कोभिडअघि बन्न लागेका चलचित्रहरुमा वितरकले अग्रिम भुक्तानी वापत लगानी गरेको करोडौं रुपैयाँ जोखिममा छ ।’
कोभिडको समयमा मन्त्रीलगायत सरकारका प्रतिनिधिहरुलाई भेटेर दिएको सुझाव बजेटमा नसमेटिएकोमा उनले गुनासो गरेका हुन् । ५ वा ६ वर्षे नीतिगत योजना चलचित्र क्षेत्रका विज्ञ तथा अग्रजहरुसँग छलफल गरी बजेटमा समावेश गर्न उनले सुझाव दिएका छन् । उनले बजेट भाषणपछि फेसबुकमा स्टाटस लेख्दै बजेटमा चलचित्र क्षेत्रले नयाँ केही कुरा नपाएको बताएका थिए ।




