‘काजी’ कुनै फिल्मी कथा मात्र होइन, यो घर–घरको कथा हो – विपिन कार्की



काठमाडौं – भनिन्छ, अभिनय भनेको क्यामेराको अगाडि अरूकै जीवन बाँच्नु हो। एउटा कलाकारले एउटा पात्र बन्न महिनौँ पसिना बगाउँछ। तर, कहिलेकाहीँ कलाकारको जीवनमा यस्तो एउटा कथा आइदिन्छ, जुन निभाउन उसलाई कुनै तयारी नै चाहिँदैन… किनकि त्यो कथा उसले आफ्नै वास्तविक जीवनमा बाँचिरहेको हुन्छ।

आगामी जेठ ८ गते प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित चलचित्र ‘काजी’ मा भर्सटायल अभिनेता विपिन कार्कीलाई यस्तै भएको छ। हरेक फिल्ममा आफ्नो लुक्स र क्यारेक्टरलाई लिएर गम्भीर प्रयोग गर्ने विपिनले यो फिल्मका लागि भने खासै धेरै तयारी गर्नु परेनछ! उनले यो प्रसङ्गलाई सम्झे – “म आफैँ पनि एउटा श्रीमान् हुँ। त्यसैले यो पात्रका भावनाहरू मैले जीवनमै अनुभव गरिरहेको छु। अन्य केही फिल्ममा जस्तो धेरै तयारी गर्नुपरेन।” एउटा श्रीमानले आफ्नी श्रीमतीको अनुहारमा ल्याउन खोज्ने मुस्कान, साना–साना कुरामा गर्ने सम्झौता र श्रीमतीको खुसीमा आफ्नो खुसी देख्ने त्यो सूक्ष्म भावना… विपिनले ‘काजी’ मार्फत पर्दामा दुरुस्तै उतारेका छन्।

विपिनका अनुसार, यो फिल्मले ‘म तिमीलाई धेरै माया गर्छु’ भन्ने ठुल्ठूला संवाद बोल्दैन, बरु दैनिक जीवनका साना व्यवहारभित्रको साँचो प्रेमलाई खोज्छ। २०५० सालअघिको परिवेश बोकेको यो कथामा, विपिन ‘काजी खानदान’ को विरासत बोकेका यस्ता युवक हुन्, जसलाई बाहिरी संसारसँग कुनै सरोकार छैन, उनी केवल प्रेममा डुबेका छन्। सुरुमा अर्कै कथामा बन्न लागेको यो प्रोजेक्ट, जब कथा परिवर्तन भएर नयाँ स्वादमा आयो, विपिनले यसलाई नाइँ भन्नै सकेनन्।

लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यस फिल्ममा विपिनको जोडीका रूपमा अभिनेत्री केकी अधिकारी छन्। साथमा गरिमा शर्मा, प्रकाश घिमिरे, विशाल पहारी, विनोद न्यौपाने लगायतका कलाकारको अभिनय छ।

रामप्रसाद रिजाल प्रस्तुत कर्ता रहेको यो ‘रिजाल एन्ड रिजाल प्रोडक्सन’ को फिल्ममा प्रदीप भारद्वाजको लेखन, चिन्तन राजभण्डारीको छायाङ्कन, र कालीप्रसाद बास्कोटाको सङ्गीतले फिल्मलाई पूर्णता दिएको छ। विपिन कार्कीको एउटै दाबी छ- यो फिल्म हेरेपछि दर्शकले पक्कै भन्नुहुनेछ, काजी  कजिनीको प्रेम पो प्रेम!’ यो कुनै फिल्मी कथा मात्र होइन, यो घर–घरको कथा हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu