बजेटमा ‘स्टोरी बैंक’ ले निरन्तरता पाउनु सकारात्मक : प्रदीप भारद्वाज



नेपाली चलचित्रका स्क्रिप्ट राइटर प्रदीप भारद्वाजले सरकारले बजेटमा ‘स्टोरी बैंक’ को अवधारणालाई निरन्तरता दिनु सकारात्मक रहेको बताएका छन् । ‘स्टोरी बैंक’ को बारेमा जानकारी दिँदै उनले भनेका छन्, ‘स्टोरी बैंकको अवधारणा के हो भने चलचित्र विकास बोर्डमार्फत् सरकारको पनि सह-लगानीमा चलचित्र निर्माण हुनेछ ।’ अघिल्लो बजेटमा स्टोरी बैंकका लागि सरकारले ३५ लाख छुट्याएको उनले बताए ।

अहिलेसम्म ‘स्टोरी बैंक’ मा दर्ता भएका ५५ वटा चलचित्रको कथा तथा पटकथामध्ये ५-७ वटा चलचित्रलाई छनोट गरेर चलचित्र विकास बोर्डले लगानी गर्न सके बजेटको सही कार्यन्वयन हुने उनी बताउँछन् । निर्माताले जोखिम उठाउन तयार नभएका चलचित्रमा सरकारले सह-लगानी गर्नुपर्ने उनको भनाइ छ । तर, उनलाई ‘स्टोरी बैंक’ मा राजनीति घुस्ने होकि भन्ने चिन्ता पनि उतिक्कै छ ।

लेखक भारद्वाज भन्छन्, ‘यसअघि विकास बोर्डबाट त्यस्तो निष्पक्ष काम भएको देखिन्न । जुन पार्टी सरकारमा हुन्छ त्यही पार्टीमा आबद्ध भएका मान्छेले उत्कृष्ट चलचित्रको अवार्ड पाएको कयैन् पटक देखेको छु । स्टोरी बैंकमा चाहिँ त्यस्तो नहोस् । वास्तविक सर्जकले नै अवसर पाउन् । यसमा राजनीति नछिरे हुन्थ्यो । राजनीतिक घुस्नु भनेको कालन्तरमा चलचित्र क्षेत्रलाई नै असर गर्छ ।’

उनले यसपटकको बजेट चलचित्र क्षेत्रका लागि सकारात्मक नै रहेको बताएका छन् । तर, कोरोनाको समयमा सरकारले चलचित्र क्षेत्रलाई अझै काखी च्याप्न नसकेको उनको तर्क छ । उनी भन्छन्, ‘समग्रमा चलचित्र क्षेत्रका लागि बजेट राम्रो नै छ । सरकारसँग मेरो एउटा आग्रह के छ भने हामीले चलचित्र निर्माण गर्दा जुन अनुमति लिनुपर्छ त्यो एक द्वार प्रणालीबाट भए अझ राम्रो हुन्थ्यो ।’

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu