एक समयकी चर्चित मोडल तथा अभिनेत्री प्रकृति श्रेष्ठले इन्डस्ट्रीमा आफूले यौन उत्पीडनको सामना गरेको खुलासा गरेकी छन् । मंगलवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक प्रशंसकले ‘तपाईंले कहिल्यै यौन उत्पीडनको सामना गर्नुभएको छ ?’ भनेर सोधेको प्रश्नमा उनले इन्डस्ट्रीमा काम गर्न सुरु गर्दाको समयमा यौन उत्पीडनको सामना गर्नुपरेको बताएकी हुन् ।

उनले लेखेकी छिन्, ‘मैले यौन उत्पीडनको सामना गरेको छु । जब मैले यो उद्योगमा काम गर्न सुरु गरेको थिएँ त्यसबेला । तर, म उनीहरुको अनुचित कार्यको बारेमा बोल्न डराइन् ताकि तिनीहरूले अर्को पटक मसँग वा अर्को कोहीसँग भेट्नुअघि दुई पटक सोचुन् ।’ म्यूजिक भिडियोबाट करिअर सुरु गरेकी उनले कोबाट यस्तो व्यवहार सहनु परेको थियो भन्ने चाहिँ खुलाएकी छैनन् ।

प्रकृति ६ वर्षपछि अभिनयमा फर्किएकी छन् । निषेधाज्ञाभन्दा अगाडि चलचित्र ‘बिहे पास’ को छायांकन पूरा गरेकी उनको यो चलचित्रमा अभिनेता दयाहाङ राईसँग बाँधिएको छ । चलचित्रको छायांकन सकेर उनी अष्ट्रेलिया गइसकेकी छन् । चलचित्र ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रकृतिले यसपछि ‘जिन्दगी रक्स र उत्सव’ चलचित्रमा काम गरेकी थिइन् ।