मानसिक रुपमा स्वस्थ रहन राजेश हमालको टिप्स



कोरोना भाइरसका कारण अहिले देशमा निषेधाज्ञा जारी गरिएको छ । जसले गर्दा देशको ठूलो जनसंख्या घरभित्रै सीमित भएको छ । लामो समयदेखि भइरहेको लकडाउन र कोरोना महामारी संकटका कारण मानिसमा विभिन्न खालको मानसिक तनावहरु देखिन थालेका छन् । यो समयमा मानसिक रुपमा स्वस्थ रहन चिकित्सकसँगै कलाकारहरुले पनि आग्रह गरिरहेका छन् ।

यसैक्रममा, अभिनेता राजेश हमालले लकडाउनमा मानसिक स्वास्थ्य उच्च राख्न दिप्स दिएका छन् । बुधवार फेसबुकमा एक भिडियो पोस्ट गर्दै उनले यो असामान्य परिस्थितिमा आफ्नो मानसिकतामा पनि असामान्य प्रभाव पार्न सक्ने भएकाले यस कुरामा होसियार रहन सुझाव दिएका छन् । मनलाई सकारात्मक बनाइराख्न आफूलाई इच्छा लागेको कुरामा इन्गेज हुन उनको आग्रह छ ।

उनले समाचारमा पनि बढी समय नखर्चिन भनेका छन् । ‘तपाईंहरुलाई समाचार थाहा पाउन मन छ भने एउटा स्रोतमा केही समय खर्चिनुहोला । बाँकीको समय आफूलाई इन्गेज हुने, दिमागलाई फ्रेस राख्ने कार्यहरुमा संलग्न हुनुहोला । एक्सरसाइज गर्नुहोस्, फ्रेस हावामा हिँडडुल गर्नुहोस्, पुस्तक पढ्न मन छ भने पुस्तक पढ्नुहोस्, यहाँहरुलाई लेखमा रुची छ भने आफ्ना मनका कुराहरु लेखेर हलुका पनि हुन सकिन्छ,’ उनले भनेका छन् ।

भिडियोमा राजेश हमालले भनेका कुरा यस्ता छन्

नमस्कार, म राजेश हमाल ।

हामी सबैलाई थाहा छ कि पछिल्लो करीब डेढ वर्षयता कोभिड १९ (कोरोना भाइरस) बाट विश्व ग्रसित छ । आतंकित छ । र, अहिले नयाँ भेरियन्टको कोरोना भाइरस नेपालमा देखा परेको छ र हामी सबै लकडाउनमा छौं । यो असामान्य परिस्थितिमा हाम्रो मानसिकतामा पनि केही असामान्य प्रभाव पार्न सक्छ । त्यसैले हामी यसमा होसियार हौं ।

आफ्नो मनलाई हल्का राख्न र पोजेटिभ बनाइराख्न जुन कुरामा तपाईं इन्गेज हुनुहुन्छ त्यही कार्यहरु गर्नुहोस् । चाहे त्यो घरको सदस्यहरुसँग बसेर रमाइला कुराहरु शेयर गर्ने, केही जोक्सहरु भन्ने, हाँसी मजाकका कुराहरु गर्ने या तपाईंको गार्डेन छ भने त्यहाँ समय विताउन सक्नुहुन्छ । खाना बनाउन मनपर्छ भने त्यसमा इन्गेज राख्न सक्नुहुन्छ । एक्सरसाइज गर्न सक्नुहुन्छ । सक्नु हुन्छ भने केहीबेर मेडिटेसन गरेर आफ्नो माइनलाई असाध्धै फ्रेस र पोजेटिभ राखिरहन सक्नुहुन्छ । त्यसैले मानसिक सन्तुलनका लागि यहाँहरु हमेशा सचेत हुनुहोला ।

समाचारहरुमा पनि धेरै समय नखर्चिनुहोला । अहिले विभिन्न स्रोतहरु छ समाचारका लागि । यदी तपाईंहरुलाई समाचार थाहा पाउन मन छ भने एउटा स्रोतमा केही समय खर्चिनुहोला । बाँकीको समय चाहिँ आफूलाई इन्गेज हुने, दिमागलाई फ्रेस राख्ने कार्यहरुमा संलग्न हुनुहोला । एक्सरसाइज गर्नुहोस्, फ्रेस हावामा हिँडडुल गर्नुहोस्, पुस्तक पढ्न मन छ भने पुस्तक पढ्नुहोस्, यहाँहरुलाई लेखमा रुची छ भने आफ्ना मनका कुराहरु लेखेर हलुका पनि हुन सकिन्छ । केही कुराहरु यहाँहरुले आफ्नो लेखमार्फत् व्यक्त गरेर घरका सदस्यहरुसँग पनि शेयर गर्न सक्नुहुन्छ । त्यसैले आफूलाई इन्गेज राख्नुहोला । यसबाट यहाँहरुको मानसिकता सकारात्मक र फ्रेस रहिरहनेछ । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu