प्रदेश नं. १ मा चलचित्र विकास बोर्डको आवश्यकता औंल्याउँदै ‘नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १’ ले बोर्ड स्थापनाको माग गरेको छ । महासंघमा आवद्ध १५ वटा संस्थासँग छलफलपछि बैशाख १५ गते प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै विभिन्न मन्त्रालयलाई ‘चलचित्र पर्यटन क्षेत्रको रुपमा प्रदेश १, वार्षिक कार्य योजना प्रस्तावना पत्र’ बुझाइएको थियो ।
चाँडोभन्दा चाँडो बजेट विनियोजन गरेर ‘चलचित्र बिकास बोर्ड, प्रदेश नं १’ स्थापना गर्न महासंघले माग गरेको थारु चलचित्र तथा सांस्कृतिक संघका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए । बोर्ड स्थापना भएको खण्डमा प्रदेश १ लाई चलचित्र पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने उनले बताए । प्रदेश सरकार चलचित्र विकास बोर्ड स्थापना गर्न सकारात्मक रहेको उनको भनाई छ ।

महासंघले प्रदेश नं. १ मा छायांकन स्थलको पहिचान गर्न समिति गठन, प्रदेश नं १ का एक जना चलचित्रकर्मीलाई सद्भावना दूत नियुक्ति, समस्यामा परेका चलचित्रकर्मीलाई सहयोग गर्न अक्षय कोषका लागि बजेट विनियोजन, प्रदेश १ मा छायांकन गर्न आउने चलचित्र वा प्रदेश १ मा निर्माण हुने चलचित्रलाई पाँच लाखसम्म प्रोत्साहन स्वरुप आर्थिक सहयोग गर्न पनि प्रस्ताव राखेको छ ।
महासंघले प्रदेश नं. १ मा प्रत्येक वर्ष चलचित्र महोत्सव आयोजना गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ । त्यस्तै, प्रदेश नं. १ को चलचित्र क्षेत्रलाई चलायमान बनाउन राष्ट्रियस्तरको चलचित्र कार्यशाला, आदिवासी जनजाती चलचित्र महोत्सव र बाराहक्षेत्रमा छायांकन स्थल निर्माणको लागि बजेट विनियोजन गर्न पनि माग गरिएको चलचित्रकर्मी महासंघका अध्यक्ष अरुण प्रधानले बताए ।




