
काठमाडौं – नेपाली बक्स अफिसमा यतिबेला एउटै चलचित्रको सर्वाधिक चर्चा छ, त्यो हो ‘काजी’ । रामप्रसाद रिजाल प्रस्तुत तथा लक्ष्मण रिजाल निर्देशित यस चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै दर्शकको व्यग्र प्रतीक्षा र उत्साह ह्वात्तै बढेको छ । आगामी जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्र ट्रेलर रिलिजपछिको आक्रामक प्रतिक्रियासँगै यतिबेला हरेक दर्शकको वाचलिस्टको पहिलो नम्बरमा पर्न सफल भएको छ । ‘वारि बर पारि पीपलु’ बोलको गीतबाटै माहोल तताएको ‘काजी’ले ट्रेलरमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाउँदै चलचित्रप्रति ठूलो कौतूहल जगाएको छ ।
चलचित्रलाई दर्शकले आफ्नो प्राथमिकतामा राख्नुको मुख्य कारण यसले उठान गरेको ‘ओल्ड जेनेरेसन लभ स्टोरी’ को उत्कृष्ट प्रस्तुति हो । ट्रेलरमा देखाइएको विवाहपछिको नवजोडीको सुन्दर प्रेम र पारिवारिक उतारचढावले जो कोहीको मन छुन्छ । विशेषगरी विपिन कार्की ‘काजी’ र केकी अधिकारी ‘कजिनी’ को अवतारमा स्क्रिनमा आउँदा उनीहरूबीच देखिएको ‘नेचुरल केमेस्ट्री’ साँच्चै लोभलाग्दो छ । यी दुई दिग्गज कलाकारको जीवन्त अभिनयले फ्यानहरूका लागि यो ट्रेलर एउटा ठूलो उत्सव नै बनेको छ भने ट्रेलरमा नायिका गरिमा शर्मालाई एउटा ‘सरप्राइज प्याकेज’ का रूपमा प्रस्तुत गरिनुले दर्शकको उत्सुकतालाई अझ बढाएको छ ।
चलचित्रको प्राविधिक पक्षले पनि यसलाई हेर्नैपर्ने सूचीको शीर्ष स्थानमा राख्न मद्दत गरेको छ । चिन्तन राजभण्डारीको क्यामेराबाट खिचिएको ‘ब्युटिफुल’ सिनेम्याटोग्राफी, प्रदीप भारद्वाजले लेखेका गहिरा तथा मर्मस्पर्शी संवाद र त्यसलाई मजबुत साथ दिने कालीप्रसाद बास्कोटाको सुहाउँदो संगीतको सम्मिश्रणले दर्शकलाई बाँधेर राख्न सफल भएको छ । यिनै बलिया पक्षहरुको संयोजनले गर्दा ‘काजी’ले युट्युबको कमेन्ट बक्सदेखि चोक–चौतारासम्म निकै सकारात्मक चर्चा बटुलिरहेको छ ।
दर्शकको सनसनीपूर्ण प्रतिक्रियाले ‘काजी’ले बक्स अफिसमा ठूलो तरंग ल्याउने संकेत गरिसकेको छ । लामो प्रतीक्षापछि एउटा उत्कृष्ट चलचित्रको छनक पाएको भन्दै दर्शकले ‘काजीले संसार नै पल्टाइदिने’ सम्मका प्रतिक्रिया दिइरहेका छन् । श्रीमान र श्रीमतीको माया कस्तो हुनुपर्छ भनेर आजको पुस्ताले यो चलचित्रबाट सिक्न सक्ने भन्दै दर्शकले व्यक्त गरेका भावनाले चलचित्रको विषयवस्तु र त्यसको गहिराइलाई प्रमाणित गर्छ । समग्रमा, दमदार अभिनय, मर्मस्पर्शी कथावस्तु र प्राविधिक उत्कृष्टताको कारण ‘काजी’ प्रदर्शन अगावै दर्शकको रोजाइको पहिलो नम्बरमा शानदार रूपमा उभिन सफल भएको छ ।






