
काठमाडौं – के तपाईँले आफ्नो बच्चालाई परीक्षामा पहिलो नभएको झोकमा अरूका छोराछोरीसँग तुलना गर्दै गाली गर्नुभएको छ ? यदि अन्जानमै भए पनि यस्तो गल्ती गर्नुभएको छ भने आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोल नं १’ ले तपाईँलाई हलभित्रै आफ्नै गल्तीको महसुस गराउनेछ। भर्खरै सार्वजनिक भएको यस चलचित्रको ट्रेलरले बालबालिकालाई ‘रेसको घोडा’ सम्झिने र जसरी पनि ‘फर्स्ट’ हुनैपर्ने दबाब दिने हाम्रो खोक्रो समाज तथा घोकन्ते शिक्षा प्रणालीमाथि जोडदार प्रहार गरेको छ।
यो चलचित्र कुनै काल्पनिक हिरो र भिलेनको कथा नभई हरेक घरको यथार्थ भोगाइ हो। ट्रेलर हेर्दा अभिनेता मुकुन भुसालले निर्वाह गरेको कडा बाबुको पात्रमा धेरै अभिभावकले आफैँलाई प्रतिविम्बित भएको पाउन सक्छन्। एउटा कलिलो बच्चा, जसको आफ्नै सुन्दर दुनियाँ छ, उसलाई ‘रोल नम्बर एक’ ल्याउनुपर्ने मानसिक बोझले कसरी थिचिरहेको छ भन्ने कुरा ट्रेलरमा निकै जीवन्त र मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ। कलिला मस्तिष्कमाथि थोपरिएको अपेक्षाको भारीले जो कोही दर्शकको मन अमिलो बनाउँछ।
चलचित्रका लेखक महेश दवाडी, निर्देशक जौन योञ्जन तथा निर्माता विनोद पौडेलले नेपाली समाजको एउटा गम्भीर तर बेवास्ता गरिएको विषयलाई उठान गरेर साहसिक कदम चालेका छन्। मुकुन भुसाल र सुशांक मैनाली जस्ता दिग्गज कलाकारहरूको बलियो उपस्थिति त छ नै, त्यसमाथि साना बालकलाकारहरू निर्भीक रेग्मी र रिन्चेन लामाको आँखामा देखिएको डर र निर्दोषपनाले चलचित्रलाई ‘मास्टरपिस’ बनाउने छनक दिएको छ। यी बालकलाकारको भावपूर्ण प्रस्तुतिले दर्शकको मनमा गहिरो छाप छोड्ने निश्चित छ।
‘रोल नं १’ ले बक्स अफिसमा गर्ने व्यापारिक सफलता आफ्नो ठाउँमा होला, तर यसले हजारौँ बालबालिकाको गुम्सिएको आवाजलाई पक्कै पनि बुलन्द गर्नेछ। त्यसैले, यसपटक साथीभाइसँग मात्र नभई आफ्ना साना बालबालिकाको हात समातेर र आमाबुबालाई साथै लिएर हलमा जानु उपयुक्त हुनेछ। आगामी जेठ १५ गते प्रदर्शन हुने यो चलचित्र केवल मनोरञ्जनको साधन मात्र नभएर धेरै अभिभावकका लागि एउटा प्रभावकारी ‘थेरापी सेसन’ बन्न सक्ने विश्वास गरिएको छ।






