कोरोनाका कारण समस्यामा परेका प्राविधिकहरुलाई सहयोग जुट्ने क्रम बढेको छ । शनिवार चलचित्र प्राविधिक संघले २ सय ५० जना प्राविधिकलाई खाद्यान्न वितरण गरेको । ‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्ट, नव-नायक नविन लम्साल लगायतको सहयोगमा चामल, दाल, तेल, नुन लगायतका दैनिक उपभोग्य सामाग्री बाँडिएको प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए ।

समस्यामा परेका प्राविधिकहरुलाई एक चरण सहयोग गरिसकेको उनको भनाई छ । प्राविधिक संघका अध्यक्ष लामाले आर्थिक वर्ष २०७८/७९ को बजेटमा चलचित्र क्षेत्रका विभिन्न विषय समेटिए पनि प्राविधिकहरुलाई बचाउन कुनै खालको सम्बोधन नभएकोमा गुनासो पोखेका छन् । अहिलेको अवस्थामा प्राविधिकहरुको दैनिक जीवनयापनलाई सहज बनाउन आवश्यक रहेको उनको भनाई छ ।
उनले प्राविधिकहरुको उपचारका लागि छुट्टै अस्पतालको समेत माग गरेका छन् । उनी भन्छन्, ‘दुई चरणको कोरोना महामारीपछि प्राविधिकहरुको उपचारका लागि छुट्टै अस्पताल बनाउनु पर्ने आवश्यकता देखिएको छ । प्राविधिकहरुको उपचारका लागि कति अस्पतालमा ५० प्रतिशत छुट दिन भन्दै पहल गर्ने ? अर्को बजेटमा ‘प्राविधिक अस्पताल’ बनाउनका लागि बजेट छुट्याउन माग गर्दछौं ।’




