‘एक्सन किंग’ को रुपमा चिनिने निखिल उप्रेती काँचको पर्दामा देखिएको तीन वर्षभन्दा बढी भइसकेको छ । ‘पिंजडा ब्याक अगेन’ पछि उनका न नयाँ चलचित्र रिलिज भएका छन् न त नयाँ चलचित्रमा काम नै गरेका छन् । कोरोना महामारीभन्दा अगाडिदेखि उनी आफ्नै लगानीमा चलचित्र ‘भैरव’ को सिक्वेल बनाउने तयारीमा थिए । तर, अब यो चलचित्र निर्माण हुन्छ वा हुँदैन, टुंगो छैन ।
आजभोली आध्यात्मतिर लागेका निखिल चलचित्रमा आफ्नो लामो समय ग्याप हुनुको कारण चलचित्रबाट अफर नआउनु पनि मुख्य कारण रहेको खुलासा गरेका छन् । उनले हालै एक अन्तर्वार्तामा भनेका छन्, ‘वास्तवमै भन्ने हो भने हामीले चलचित्र पाउन छाडेकै हो । फ्लप भएको भन्न पनि सकिन्छ । चलचित्रबाट अफर पनि आउँदैन थियो । आफैंले बनाइहाल्ने अवस्था पनि थिएन ।’

केही चलचित्रबाट आएका अफर आफूलाई मन नपरेको र राम्रा चलचित्रका लागि याद नगरिएको अभिनेता उप्रेतीको भनाई छ । उनी धक नमानी अगाडि भन्छन्, ‘कसैले पनि आफूलाई फ्लप भएको स्वीकार गर्दैन । वास्तवमै हामी फ्लप भएको नै हो ।’ चलचित्र उद्योगमा आफूले पनि सजिलो ढंगले र अरुलाई पनि सहज तरिकाले चलचित्र बनाउन सक्ने अवस्था नभएको उनको अनुभव छ ।
उनी आफूले चलचित्र नपाउनु ठूलो कुरा नभएको बताउँछन् । निखिल अगाडि भन्छन्, ‘नयाँ पुस्ता नयाँ किसिमले आए । हरेक उर्जा सुरुमा उर्जावान हुन्छ । तर, चलचित्र क्षेत्रमा पुरानो अनुभव र कामलाई अहिलेको पुस्ताले त्यति प्राथमिकता दिएको पाइन्न, जसले गर्दा उद्योगको मेरुदण्ड बन्न सक्दैन । पुरानो अनुभव र नयाँको जोशले अगाडिका चिजहरु बन्ने हन् । तर, त्यो ग्याप छ यहाँ ।’
निखिलले आफू अभिनयबाट टाढा नभएको र टाढा हुने सोच पनि नभएको बताएका छन् । ‘निर्माता भएर पनि चलचित्र बनाइयो । फिल्म हिट हुँदा पनि हातमा केही आउँदैन थियो । जसका कारण नयाँ चलचित्र बनाउन हिम्मत गर्न सकिएन । तर, अभिनयबाट टाढा हुने भन्ने अहिलेसम्म सोचेको छैन । किनकि, म कलालाई माया गर्छु । त्यसमाथि काम नगरी त बस्नै सक्दिनँ,’ उनले भने ।
चलचित्र क्षेत्र अरुलाई गाली गरेर, निन्दा गरेर, होच्याएर, आरोप लगाएर मात्र बाँचिरहेको बताउँदै निखिलले क्रियटिभिटीमा भन्दा अरुलाई नै दोष लगाउने प्रवृति हाबी रहेको बताएका छन् । उनी आफू कलाकार बन्नकै लागि जन्मिएको भनेर बनावटी कुरा गर्न पनि चाहँदैनन् । जीवनमा धेरै कुरा जान्न र बुझ्न जरुरी हुने भएकाले यसका लागि अहिले आफूले समय दिइरहेको उनले बताए ।




