नेपाली चलचित्रकी अभिनेत्री बन्न चाहन्थिन्, निशा घिमिरे । दर्शकको भीडमा उभिएर अटोग्राफ दिने ठूलो सपना थियो उनको । आफ्नो त्यही सपना पूरा गर्न २ वर्ष अगाडि भारत पुगेकी उनको जीवनमा एउटा अप्रत्यासित घटना घट्यो, जसले उनको सारा सपना निमोठियो । उनी अभिनयमा डिप्लोमा गर्न भारत गएकी थिइन् । तर, एउटा दुर्घटनाले आज उनी जीवन र मृत्युसँग लडिरहेकी छन् ।
डिप्लोमा गर्न भारत पुगेको केही समयमा नै उनी सवारी दुर्घटनामा परिन् । जसका कारण उनलाई ब्रेन ह्यामरेज भयो । लामो समय उनको भारतमै उपचार भयो । तर, अस्पतालको खर्च धान्न नसक्ने भएपछि उनका परिवारले भारतस्थित नेपाली दूतावासदेखि विभिन्न संस्थालाई गुहारे । तर, कतैबाट सहयोग नपाएपछि आफ्नै खर्चमा परिवारले निशालाई एम्बुलेन्समा राखेर नेपाल ल्याए ।

उनको उपचारमा परिवारको सबै जायजेथा सकिसकेको छ । कोठा भाडामा बस्न सक्ने अवस्था नभएपछि अहिले उनको परिवारले भैंसीपाटीमा टिनले बारेर एउटा झुप्रो बनाएका छन् । त्यही परिवारको रेखदेखमा बस्दै आएकी छन्, निशा । उनको शरीर सुकेर दाउरो भइसक्यो । परिवारका सदस्यलाई समेत चिन्न छाडिसकेकी छन् । उनको अवस्था देख्दा जो कोहीको आँखा रसाउँछ ।
केही दिनदेखि सामाजिक सञ्जालमा उनका पहिले र अहिलेका तस्विरहरु भाइरल भएका छन् । उनको अवस्था देखेर सहयोग जुट्ने क्रम बढेको छ । मंगलवार म्यूजिक भिडियो निर्देशक शान थापासहितको टिमले उनको पितालाई १० हजार सहयोग गर्यो । भेटमा उनका पिताले सहयोगका लागि आग्रह गरेको शानले बताए । निशाको अवस्था देख्दा आफू भावुक भएको उनी बताउँछन् ।
अभिनयमा डिप्लोमा गर्न जानुअघि निशाले मैथिली र नेपाली भाषामा बनेको चलचित्र ‘मधेशीपुत्र २’ मा अभिनय गरेकी थिइन् । यद्यपि, यो चलचित्रले उनलाई दर्शकमाझ चिनाउन सकेन । उनले ‘डियर जिन्दगी’ नामक टेलिश्रृंखलासँगै केही म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छन् । निशालाई सहयोग गर्न चाहनेले उनका पिता राजु घिमिरेलाई ९८५१२३८९५२ मा फोन गर्न सक्नेछन् ।


