राजेश हमालले धरहरामा काटे जन्मदिनको केक



बुधवारबाट ५७ वर्षमा प्रवेश गरेका अभिनेता राजेश हमालले यसपटकको आफ्नो जन्मदिनलाई विशेष बनाएका छन् । फेसबुक मिति अनुसार मंगलवारदेखि नै जन्मदिनको केक काट्न थालेका उनले बुधवार नवनिर्मित धरहरामा पुगेर समेत बर्थ-डे केक काटे । दृश्यावलोकन गर्नका लागि २०औं तल्लामा बनाइएको धरहराको बार्दलीमा बसेर उनले श्रीमती मधु भट्टराईको साथमा जन्मदिनको केक काटेका हुन् ।

उनले धरहरा निर्माण गर्न दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउन त्यहाँ पुगेर जन्मदिनको केक काटेको बताइएको छ । उनी बुधवार बिहानै श्रीमतीको साथमा पशुपतिनाथ दर्शनका लागि पुगेका थिए । पशुपतिनाथको दर्शनपछि उनले त्यस क्षेत्रमा आश्रय लिएर बसेका असाहयहरुलाई खाद्यान्न बाँडे । त्यसबेला उनीसँग तस्विर खिच्न सुरक्षाकर्मीबीच नै हानाथाप भएको थियो ।

स्वम्भुनाथमा कोरोनाका कारण समस्यामा परेका व्यक्तिहरुलाई पनि राहत बाँडेका हमालले राजधानीको एक स्कूलमा बर्थ-डे केक काट्दै त्यहाँका विद्यार्थीहरुको हौसला बढाउन नाचगान समेत गरेका थिए । साँझ श्रीमतीसहित केही नजिकका व्यक्तिहरुसँग घरमै बर्थ-डे सेलिब्रेसन गरेका हमाललाई सामाजिक सञ्जालमा शुभचिन्तकदेखि चलचित्रकर्मीहरुले जन्मदिनको शुभकामना दिएका छन् ।

२०२१ सालमा पाल्पाको तानसेनमा पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका राजेश हमालले चलचित्र ‘युगदेखि युगसम्म’ बाट अभिनय करिअर सुरु गरेका हुन् । उनले आफ्नो तीन दशक लामो करिअरमा तीन सयको आसपासमा चलचित्रमा काम गरेका छन् । चाँडै चलचित्र ‘सत्यम्’ मा काम गर्ने तयारीमा रहेका उनलाई दर्शकले ‘महानायक’ भन्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu