निशालाई चलचित्रकर्मी कल्याणकारी कोषको सहयोग



तीन वर्ष अगाडि सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी अभिनेत्री निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषको तर्फबाट ५१ हजार प्रदान गरिने भएको छ । आर्थिक अभावका कारण उनको उपचार गर्न परिवारलाई समस्या भएको खबर सुनेपछि कोषको समितिले उनलाई सहयोग स्वरुप उक्त रकम प्रदान गर्न लागेको हो ।

अभिनय कोर्स पढ्न तीन वर्षअघि भारत गएको दुई महिनामा निशा गाडी दुर्घटनामा परेकी थिइन् । उनको लामो समय भारतमै उपचार भयो । तर, अस्पतालको खर्च धान्न नसक्ने भएपछि निशाको परिवारले उनलाई नेपाल ल्याएका थिए । काठमाडौंको ट्रमा सेन्टरमा तीन महिनासम्म उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नभएपछि उनको विभिन्न थेरापी सेन्टरमा थेरापी गरिएको थियो ।

उनको उपचारमा परिवारको तीस लाख खर्च भइसकेको छ । उपचारकै क्रममा कोरोना महामारी सुरु भएपछि निशा घरमै परिवारको रेखदेखमा थिइन् । आर्थिक अभावका कारण उनको परिवारले उनलाई पुनः अस्पताल भर्ना गर्न सकेको थिएन । बिहीवारदेखि भने उनको नर्भिक अस्पतालमा निःशुल्क उपचार सुरु भएको छ । अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको उद्दार गरेकी हुन् ।

उनको अवस्थामा सुधार आउनेमा चिकित्सकहरु विश्वस्त छन् । पुनः उपचार सुरु भएपछि निशाको मुहारमा पनि खुसी देखिएको छ । उनले एक नेपाली फिल्ममा अभिनय गरेकी छन् । नेपाली र मैथिली भाषामा निर्माण भएको चलचित्र ‘मधेशीपुत्र २’ मा उनले मुख्य भूमिकामा अभिनय गरेकी थिइन् । उनले ‘डियर जिन्दगी’ नामक टेलिसिरियलसँगै तीन दर्जन बढी म्यूजिक भिडियोमा काम गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu