आउँदो असोज १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘चुरीफुरी’ को टिमले कोरोना भाइरसका कारण बिहान बेलुका हातमुख जोर्न समस्या भएका व्यक्तिलाई राहत वितरण गरेको छ । काठमाडौंको बसुन्धराका बस्दै आएका २५ परिवारलाई चलचित्रको टिमले २० दिनसम्म पुग्ने खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो । खाद्यान्नसँगै मास्क पनि प्रदान गरिएको छ ।

चलचित्रका निर्देशक तथा निर्माता ऋषिराज आचार्य र सह-निर्माता बिमला भुसालले राहत बाँडेका हुन् । महामारीका कारण दैनिकी कष्टकर बनिहेका बेला पीडितहरुलाई थोरै भए पनि राहत वितरण गर्न पाउँदा खुसी लागेको निर्देशक आचार्यको भनाई छ । यो समयमा समस्यामा परेका व्यक्तिलाई सबैले सहयोग गर्नुपर्ने बताउँदै उनले आगामी दिनमा पनि सहयोगलाई जारी राख्ने बताए ।
चलचित्रमा रबिन्द्र झा, अभिषेक श्रेष्ठ, राजिब जङ्ग बस्नेत, पुजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दिपक आचार्य, सुबोध गौतम, पवन खतिवडा, सुरबिर पन्डित लगायतको अभिनय रहेको छ । कमेडी जनरामा निर्मित ‘चुरीफुरी’ मा दीपक शर्माको संगीत, समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर, भिमफेदी ग्रुपको कोरियोग्राफी र नवीन निरौलाको सम्पादन छ ।




